सिभिल बैंकका अध्यक्ष इच्छाराजले ठगी गरेको भन्दै हाउजिङका पीडित पनि प्रहरीमा, ठगी रकम पाँच अर्ब नाघ्यो

सिभिल बैंकका अध्यक्ष इच्छाराजले ठगी गरेको भन्दै हाउजिङका पीडित पनि प्रहरीमा, ठगी रकम पाँच अर्ब नाघ्यो

काठमाडौँ : सिभिल बचत तथा सहकारी ठगी अभियोगमा प्रहरी हिरासतमा रहेका सिभिल सहकारीका सञ्चालक तथा सिभिल बैङ्कका अध्यक्ष इच्छाराज तामाङ विरुद्ध हाउजिङमा ठगिएको भन्दै पीडितहरू प्रहरीको सम्पर्कमा आएका छन्।

सिभिल होम्स लगायतका हाउजिङ कम्पनी चलाउँदै आएका तामाङ सहित १२ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सहकारी ठगीमा सङ्गठित अपराध गरेको भन्दै पक्राउ गरेको थियो।

उनी पक्राउ परेपछि सहकारीका २ हजार ६ सय ९० सदस्य बचतकर्तामध्ये बुधवार बेलुकासम्म १ हजार ३ सय ३३ जनाले जाहेरी दिएका छन्। बचतकर्ताले दिएको जाहेरीमा कुल बिगो रकम   ५ अर्ब २७ करोड १४ लाख १६ हजार ३ सय २४ रुपैयाँ पुगेको  ब्युरोका प्रवक्ता श्याम कुमार महतोले जानकारी दिए।

उनका अनुसार सहकारी ठगीको जाहेरी दिनहुँ बढिरहेका छन्। सहकारी ठगीसँगै घर दिन्छु भनेर पैसा लिएर पनि घर नदिएर ठगी गरेको भन्दै केहीले ब्युरोमा सम्पर्क गरेका छन्।

‘दिनहुँ उजुरीको सङ्ख्या बढेको बढ्यै छ,’ महतोले भने, ‘बचतकर्ताको मात्रै नभएर अन्य काममा पनि ठगी भएको भनेर आउनेको सङ्ख्या बढिरहेको छ।’

के-के मा ठगी ?

ब्युरोमा ठगिएको जाहेरी सहकारीका बचतकर्ताले मात्र दिएका छन्। उनी पक्राउ परेको समाचार बाहिरिएसँगै तामाङलाई जग्गाको लागि रकम बुझाइसकेको तर जग्गा नदिएको, हाउजिङको लागि सम्झौता गरेर एडभान्समा दिए पनि फिर्ता नगरेको भन्दै पीडितहरूले ब्युरोमा फोन गर्ने र कार्यालयमा आइरहेका छन्।

पैसा तिर्नुपर्नेलाई सिभिल सहकारीले चेक दिएको तर चेक नसाटिएको र सहकारीले बाउन्स पनि नगराइदिएको तथा सिभिल सहकारीको नाममा विभिन्न पसलहरूमा उधारो सामान किनेको भन्दै ब्युरोमा आउनेहरूको सङ्ख्या बढे पनि सहकारी ठगी बाहेक अन्य ठगीमा भने प्रहरीले जाहेरी लिएको छैन।

'सहकारी ठगीसँगै अन्य प्रकृतिले पनि ठगी गरेको भन्दै कार्यालयमै आउने र फोन गर्नेहरू बढेका छन्। तर अहिले हामीले सहकारी ठगी बाहेक अन्य जाहेरी लिएका छैनौँ,' महतोले भने' अन्य प्रकृतिका ठगीका जाहेरी लिने नलिने हामी छलफलमै छौँ।'

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले तामाङ, सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई असोज १८ गते ठगी आरोपमा पक्राउ गरेको थियो। 

सङ्गठित अपराधमा प्रहरी  हिरासतमा रहेका तामाङ अहिले पनि सिभिल बैङ्कको अध्यक्ष पदमा कायम छन्। नेपाल राष्ट्र बैङ्कका उच्च अधिकारीहरूले बैङ्कका बचतकर्तामा यसले नकारात्मक असर पर्ने भन्दै अध्यक्ष परिवर्तन गर्न  सुझाव दिए पनि बैङ्क सञ्चालकहरूले निर्णय गर्न सकेका छैनन्।

अहिले बैङ्कमा अध्यक्ष तामाङ सहित अमिर बोगटी, प्रकाश तायल, प्रतापजङग पाण्डे, भीमानन्द ढुङ्गाना,  युगेश बहादुर मल्ल र शम्भु प्रसाद पन्त सञ्चालक छन्। यीमध्ये बोगटी र पाण्डेबिच अध्यक्षको प्रतिस्पर्धा रहेको छ। 

गत वर्षको वार्षिक वित्तीय विवरण अनुसार सिभिल बैङ्कमा तामाङको नाममा २६ लाख ३४ हजार ९०८ कित्ता संस्थापक र ४ लाख ४८ हजार ६ सय साधारण गरी जम्मा ३० लाख ८३ हजार ५०७ कित्ता सेयर छ। 

सहकारी ठगीबारे उकेरा निगरानी

कात्तिक १०, २०७८ बुधबार १८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।