संघीय संसदका दुवै सदनको अधिवेशन आजदेखि

संघीय संसदका दुवै सदनको अधिवेशन आजदेखि

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ।

सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापना भएको प्रतिनिधिसभा र असार २८ गते अधिवेशन अन्त्य भएको राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्न लागेको हो। 

प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान र राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।

राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले पनि राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान र राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरूको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची सार्वजनिक भएको छ। 

प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ। 

दुवै सदनमा करिब साढे तीन वर्ष सत्तामा रहेको नेकपा एमाले प्रतिपक्षीको रोहमा बस्नेछ। सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न असार २८ गते परमादेश जारी गरेको थियो।

सर्वोच्च अदालतको परमादेशबाट असार २९ गते प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनमा ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ। 

साउन ३, २०७८ आइतबार ०७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।