सर्वोच्चको फैसला संविधानलाई ट्र्याकमा फर्काउने कदम : काँग्रेस

सर्वोच्चको फैसला संविधानलाई ट्र्याकमा फर्काउने कदम : काँग्रेस

काठमाडौँ : नेपाली काँग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको परमादेश लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम भएको बताएको छ। 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउँदै संवैधानिक इजलासले विवेकपूर्ण फैसला गरेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्,‘केवल सरकार निर्माण होइन, इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व काँग्रेसको काँधमा।’

यस्तै काँग्रेस उपसभापति विमलेन्द्र निधिले शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको परमादेश र प्रतिनिधिसभाको पुरस्थापना सम्बन्धी आदेशको स्वागत गरेका छन्।

उनले ट्विट गर्दै सर्वोच्च अदालतले संविधान र संसदीय लोकतन्त्रको पक्षमा ऐतिहासिक एवं दूरदर्शी फैसला दिएको टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘यस फैसलाबाट जनतामा सर्वोच्च अदालत प्रतिको विश्वास र सम्मानमा वृद्धि भएको छ।’ 

यस्तै काँग्रेस नेता धनराज गुरुङले निरङ्कुश केपी ओली सरकार ढलेको उल्लेख गरेका छन्। उनले ट्विट गर्दै लोकतन्त्र धरापमा पर्दा सर्वोच्च अदालतले बचाएको उल्लेख गरेका छन्। 

यस्तै काँग्रेस नेता रामहरि खतिवडाले सर्वोच्च अदालतको फैसलाले नेपालमा संविधान , लोकतन्त्र र कानुनी राज्यलाई अझै  बलियो  बनाउने काम गरेको प्रतिक्रिया दिएका छन्।

उनले भनेका छन्,‘म नै राज्य हु, मेरो बोली  र आदेश कानुन हुन् भन्ने  पद्धति अब सधैँका लागि समाप्त भएको  छ।’ उनले मुलुक सनकले होइन संविधानले चल्ने टिप्पणी गरेका छन्। 

असार २८, २०७८ सोमबार १४:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।