एमाले कार्यदलको बैठक निष्कर्षविहीन, फेरि बेलुकी ७ बजे बस्ने 

एमाले कार्यदलको बैठक निष्कर्षविहीन, फेरि बेलुकी ७ बजे बस्ने 

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबिच बुधबार भएको छलफलपछि आज बसेको कार्यदलको बैठक फेरि बेलुकी बस्ने गरी सकिएको हो। 

अर्थ मन्त्रालयमा बसेको कार्यदलको बैठक सकारात्मक रूपमा अगाडि बढेको नेपाल पक्षका नेता गोकर्ण विष्टले जानकारी दिए। उनले आज या भोलिसम्म सहमति हुने विश्वास व्यक्त गरे। 

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा गरेको हस्ताक्षर फिर्ता लिन दिएको अल्टिमेटम सकिएकै दिन ब्युँतिएको विवाद समाधान कार्यदल निरन्तर छलफलमा छ। तीन दिनको छलफलपछि बुधबार अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबिच भेटवार्ता भए पनि कुनै निष्कर्षमा पुग्न सकेन। 

ओलीले निरन्तर हस्ताक्षर फिर्ताको कुरा उठाए पनि नेपालले सहमति नजनाएपछि विवाद कार्यदलमै फर्किएको छ। कार्यदलमा रहेका दुवै पक्षका नेताहरू अहिले छुट्टा छुट्टै छलफलमा छन्। 

सहमतिको भाका राख्दै बाहिरिएका दुवै पक्षका नेताहरूले छलफल सकारात्मक भएको बाहेक अरू प्रतिक्रिया जनाइरहेका छैनन्। २०७५ जेठ २ गतेको संरचनामा पार्टीलाई फर्काउनु पर्ने नेपाल पक्षको मागमा कार्यदल सकारात्मक भए पनि अध्यक्ष ओलीले हस्ताक्षर फिर्तालाई नै मुख्य एजेन्डा बनाइरहेका छन्। 

ओली र नेपालको आ आफ्नै अडानका कारण कार्यदल निष्कर्षमा पुग्न नसकेको नेताहरूले बताएका छन्।  

असार २४, २०७८ बिहीबार १४:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।