प्रतिनिधिसभा विघटन रिटमा निवेदकको जवाफी बहस र एमिकस क्युरीको राय लिन मात्रै बाँकी 

प्रतिनिधिसभा विघटन रिटमा निवेदकको जवाफी बहस र एमिकस क्युरीको राय लिन मात्रै बाँकी 

काठमाडौँ : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा असार ९ गतेदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ।

जेठ ८ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको मिति घोषणा गरेकी थिइन। 

विघटन मुद्दामा आइतबार प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सकिएर रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु भएको छ। जवाफी बहसका लागि २ घण्टा २ मिनेट मात्र समय बाँकी छ। त्यसपछि अदालतका सहयोगी (एमिकस क्युरी)को राय लिन मात्र बाँकी छ।  त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ। 

संवैधानिक इजलासमा सरकार निर्माणका सम्बन्धमा रहेको संविधानको धारा ७६ (५) को व्याख्या मुख्य विषयको रूपमा उठिरहेको छ। इजलासमा धारा ७६ (५) ले दलविहीन अवस्थाको परिकल्पना गरेको छ कि छैन?, धारा ७६ (२) र ७६ (५) मा रहेको अन्तर, धारा ७६ (५) संविधानमा राखिनुको अर्थ, धारा ७६ (५) मा कोट गरिएको धारा ७६ (२) को अर्थको विषय मुख्य रूपमा उठिरहेको छ। 

आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले रिट निवेदकका पक्षबाट जवाफी बहस गर्ने छन्।  रिट निवेदक पक्षका कानुन व्यवसायीको जवाफी बहस सकिएपछि एमिकस क्युरीले इजलासलाई राय दिने क्रम सुरु हुने छ।

असार २१, २०७८ सोमबार ०८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।