प्रधानन्यायाधीश राणाको प्रश्न : सांसदहरूमा संसद् जोगाउने अधिकार हुन्छ होला नि! 

प्रधानन्यायाधीश राणाको प्रश्न : सांसदहरूमा संसद् जोगाउने अधिकार हुन्छ होला नि! 

काठमाडौँ : वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले एमालेका सांसदले शेरबहादुर देउवालाई समर्थन गर्न नमिल्ने तर्क गरेका छन्। एमाले संसदीय दलको नेता केपी ओली रहेका भन्दै उनले त्यही दलका सांसदले शेर बहादुर देउवालाई समर्थन गर्न नमिल्ने तर्क गरेका हुन्। 

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस गर्दै महतोले भने,‘राष्ट्रपतिले तपाईँहरूको टिम क्याप्टेन ओली हो। तपाईँलाई टिम छाड्ने छुट छ। क्याप्टेन नै अर्को टिमको चाहियो भन्न मिल्दैन। जुन कानुनी व्यवस्थापनमा छैन भन्नुभएको हो।’ 

उनले बहुदलीय शासन प्रणाली दलको शासन भएको बताउँदै यसमा दल नै प्रमुख हुने बताए। ‘सरकार गठनको खेल संसद् भित्र नै हुन्छ,’उनले भने,‘त्यो खेलको खेलाडी भनेको संसदीय दल हुन्छ। खेल खेल्ने क्याप्टेन संसदीय दलको नेता हुन्छ।’

उनले कमान्डर दलको नेता हुने र कमान्डरले जे भन्छ त्यो मान्नै पर्ने जिकिर गरे।  एउटा कमान्डर एमालेका नेता केपी ओली भएको अवस्थामा शेर बहादुर देउवा मेरो कमान्डर बनाई पाउ भन्न नमिल्ने उनको तर्क थियो। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सांसदहरूमा संसद् जोगाउने अधिकार हुन्छ होला नि भनेर प्रश्न गरेका छन्। जवाफमा महतोले दलको सदस्य भएपछि दलको निर्णय मान्नुपर्ने बताए। 

प्रधानन्यायाधीश राणाले प्रधानमन्त्री बन्न सांसदको हस्ताक्षर भए अरू केही चाहिँदैन भन्ने छ? भनेर प्रश्न गरे। ‘प्रधानमन्त्री बन्नका लागि सांसदको सही नै पर्याप्त हुन्छ भन्ने के हो? भनेर उनले प्रश्न गरे। 

जवाफमा महतोले भने,‘७४ लाई समेटेर ७६ को व्याख्या गरियो भने यसबारे पुष्टि हुन्छ श्रीमान्।’ आधार कानुन सम्मत चाहिने तर्क गरे। अर्को टिमको खेलाडी मेरो टिममा ल्याएको छु मान्यता देऊ भन्दा राष्ट्रपति सन्तुष्ट हुन सक्नुभएन’ उनले भने। 

असार १७, २०७८ बिहीबार १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।