प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा : रिट निवेदक पक्षको सुरुवाती बहस आज सकिँदै 

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा : रिट निवेदक पक्षको सुरुवाती बहस आज सकिँदै 

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका पक्षलाई दिएको सुरुवाती १२ घण्टा समय आज सकिँदै छ। रिट निवेदक पक्षलाई बहसका लागि ४ घण्टा ४५ मिनेट समय बाँकी रहेको सर्वोच्च अदालतले जानकारी गराएको छ। 

रिट निवेदक शेरबहादुर देउवा सहितका १४६ जना सांसदको तर्फबाट सुरुवाती बहस भइरहेको छ। रिट निवेदकको बहस सकिएपछि सरकारी पक्षलाई बहसका लागि १५ घण्टा समय दिइएको छ। सरकारी पक्षको सुरुवाती बहस सकिएपछि रिट निवेदक पक्षलाई जवाफी बहसका लागि छुट्टै ३ घण्टाको समय तय गरिएको छ। 

सुरुवाती बहस आज सकिएपछि आइतबारबाट सरकार पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। आज शुक्रबार रिट निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सतिसकृष्ण खरेल, पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधान, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर, अधिवक्ता भीमार्जुन आचार्य, अधिवक्ता टिकाराम भट्टराईलाई बहसका लागि समय छुट्टाइएको छ। 

विघटनविरुद्धको रिटमा निवेदकको तर्फबाट १४ कानुन व्यवसायीले बहस गरिसकेका छन्। 

असार ११, २०७८ शुक्रबार १०:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।