प्रधानमन्त्री ओलीको सर्वोच्चलाई लिखित जवाफ : निर्वाचन हुन नसक्ने दावी हचुवा र आधारहीन

प्रधानमन्त्री ओलीको सर्वोच्चलाई लिखित जवाफ : निर्वाचन हुन नसक्ने दावी हचुवा र आधारहीन

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको विषयमा लिखित जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशभरका नेता/कार्यकर्ता सहभागी हुने कांग्रेसको महाधिवेशन हुनसक्ने तर चरणबद्ध रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निर्वाचन हुन नसक्ने दावी हचुवा र आधारहीन रहेको जिकिर गरेका हुन्। 

रिट निवेदक शेरबहादुर देउवाले यही भदौ महिनामा आफ्नो पार्टी कांग्रेसको महाधिवेशन गर्ने गरी कार्यतालिका प्रकाशित गरिसकेको उल्लेख गर्दै ओलीले चुनाव हुन नसक्ने दावीलाई हचुवा र आधारहीन भनेका हुन्। 

सर्वोच्च अदालतलाई १८ बुँदामा लिखित जवाफ पठाउँदै ओलीले कोभिड-१९ को सङ्क्रमणको समयमै व्यवस्थापन गरी निर्वाचन सम्पन्न गरिने दावी प्रस्तुत गरेका छन्।

प्रधानमन्त्री ओलीले विपक्षी (देउवा) लाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि सुरुमा दावी गरेको सदस्य सङ्ख्या र रिट निवेदन पेस गरिएको भनिएको सनाखतमा हस्ताक्षर गर्ने सदस्य सङ्ख्या घटेको भन्दै संविधान अनुरूपको मान्न नसक्ने तर्क गरेका छन्।

उनले ‘ती कागजातको तयारीदेखि पेस गर्दाको सबै काम असल नियतसाथ गरिएको र संविधान अनुरूपको मान्न मिल्दैन’ भनेका छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन विरुद्धको रिट निवेदनमा पाँच जना सदस्यहरूको मात्र हस्ताक्षर रहेको भन्दै यस्तो निवेदन उपर सुनवाइ हुन वा निर्णय हुन नसक्ने जिकिर गरेका छन्।

विपक्षी गठबन्धनका १४६ जना सांसदले सर्वोच्च अदालतमा लाइन लागेर दायर गरेको रिटमा प्रधानमन्त्री ओलीले ५ जनाको मात्रै हस्ताक्षर रहेको जिकिर गरेका हुन्। 

उनले निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय भएको भन्दै २०७७ पुस ५ मा गरेको प्रतिनिधिसभा विघटनको निर्णय ठिक थियो भन्ने पुष्टि गरेको तर्क प्रस्तुत गरेका छन्। सर्वोच्च अदालतमा बुझाएको लिखित जवाफमा ओलीले ‘कानुनी छिद्रहरूले राजनीतिक स्थिरता दिन सक्दैनन्’ भनेका छन्। 

ओलीले प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतको आदेश अनुरूप भएको जिकिर पनि गरेका छन्। उनले प्रतिनिधिसभाको विघटन स्वाभाविक र संवैधानिक रूपमा स्वतः भएको लिखित जवाफमा उल्लेख गरेका छन्।

उनले संविधानको धारा ७६ बमोजिमका सबै विकल्पको प्रयोग भई वैकल्पिक सरकार निर्माण हुन नसकेपछि प्रतिनिधिसभा विघटन भएको जिकिर समेत गरेका छन्। 

असार ३, २०७८ बिहीबार १३:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।