'बेलायतकै व्यवस्था मान्दा वीरेन्द्रलाई, चन्द्र शमशेर की जय भन्या जस्तो हुन्छ'

'बेलायतकै व्यवस्था मान्दा वीरेन्द्रलाई, चन्द्र शमशेर की जय भन्या जस्तो हुन्छ'

काठमाडौँ सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेलले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन्। एमिकस क्युरीका तर्फबाट राय दिँदै उनले विघटन असंवैधानिक छ भन्नेमा द्विविधा नै नरहेको बताए। 

उनले संविधानमा नलेखिएको कुराको अधिकार छ भन्न नमिल्ने बताए। प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणाले खरेललाई २०४७ सालको संविधान सिरानी हालेर व्याख्या गर्ने कि नगर्ने भनेर प्रश्न गरेका छन्। 

‘२०४७ सालको र यो संविधानको कुनै साइनो छैन भन्ने कुरा उठेको छ,’ प्रधानन्यायाधीश राणाले प्रश्न गरे, तर सन्दर्भ २०४७ कै आइरहेको छ भनेपछि २०४७ को संविधानको सिरानी हालेर व्याख्या गर्ने की नाइँ?’

जवाफमा वरिष्ठ अधिवक्ता खरेलले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुने र संसद्ले प्रधानमन्त्री छान्ने संसदीय व्यवस्थाका २ मात्र युनिभर्सल मान्यता रहेको बताए। उनले भने ‘अहिले पनि बेलायत कै व्यवस्था मान्ने हो भने त वीरेन्द्रलाई, चन्द्र शमशेर की जय भन्या जस्तो हुन्छ।’

उनले खम्पा विद्रोहका बेला राजा वीरेन्द्र हुम्लाको यारी भन्ने ठाउँमा जाँदा भएको घटना स्मरण गराए। ‘त्यहाँ राजा आउँदै छन् भनेर भनियो, हेलिकप्टरबाट वीरेन्द्र ओर्लिने बित्तिकै जनताले भने, चन्द्र शमशेर की जय।’ उनले राय दिने क्रममा उल्लेख गरे। 

उनले राजनीति र संविधान एक आपसमा जोडिएका बताउँदै विघटनको मुद्दा राजनीतिक प्रश्न भनेर छाड्न नमिल्ने बताए। 

फागुन ५, २०७७ बुधबार १३:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।