सर्वोच्चमा आजदेखि एमिकस क्युरीले राय दिने

सर्वोच्चमा आजदेखि एमिकस क्युरीले  राय दिने

काठमाडौँ : प्रतिनिधिसभा विघटन विरुद्ध आज (मङ्गलवार)देखि अदालतको सहयोगी (एमिकस क्युरी) ले सर्वोच्च अदालतको संवैधानिक इजलासमा राय दिनेछ।

विघटनको मुद्दामा सर्वोच्चले अदालतलाई रायका लागि नेपाल बार एसोसिएसनबाट ३ जना र सर्वोच्च अदालत बार एसोसिएसनबाट २ जना गरी ५ जना एमिकस क्युरी माग गरेको थियो ।

सोही आधारमा नेपाल बारका तर्फबाट बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल र सर्वोच्च बारबाट पूर्णमान शाक्य र गीता पाठक एमिकस क्युरीको रूपमा चयन भएका छन्। 

एमिकस क्युरीको रायपछि अदालतले केही समय निर्णय सुनुवाइको लागि समय लिनेछ र अन्तिम फैसला गर्नेछ। 

पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाख १७ र २७ गतेका लागि चुनावको घोषणा गरेपछि त्यसको विरोध हुँदै आएको छ।

रिटमाथि हाल सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको छ।

रिट निवेदकका वकिलहरूले प्रधानमन्त्रीसँग संसद् विघटनको अधिकार नरहेको र विघटनको निर्णय असंवैधानिक रहेको जिकिर गरेका छन्।

सरकार पक्षका वकिलले भने प्रधानमन्त्रीमा संसद् विघटनको विशेष अधिकार हुने दाबीसहित बहस गरेका छन्।

फागुन ४, २०७७ मंगलबार ०८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।