संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ एकसाता स्थगित 

संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ एकसाता स्थगित 

काठमाडौं : न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने स्वघोषणा गरेपछि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ एक सातालाई स्थगित भएको छ।

केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा महान्यायाधिवक्ता रहेका कार्कीमाथि इजलासमा वरिष्ठ अधिवक्ताहरुले बारम्बार प्रश्न उठाएपछि अन्तत आफै नबस्ने घोषणा गरेका हुन्। 

न्यायाधीश कार्कीले आफ्नो भूमिकामाथि प्रश्न उठ्दा नबस्ने भनेपछि अर्को संवैधानिक इजलास गठन हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले अब अर्को पेशी एक सातापछि अर्थात पुस २९ गते तोकेका छन्।

‘हरिकृष्णजी विगतमा केपी ओलीको सल्लाहकार हो। तपाईको कमन सेन्सले के भन्छ ? पब्लिकले के भन्लान् ? हामी अदालतको आदेश त मानौंला, यसबारे इजलासले विवेक प्रयोग गरोस्। हरिकृष्ण श्रीमानलाई के लाग्छ ? बस्नुस् वा छाड्नुस् म भन्दिनँ’ सुनुवाइका क्रममा बरिष्ठ अधिवक्ता शम्भु थापाले भने। 

सुनुवाइका क्रममा प्रधानन्यायाधीश जबराले कार्कीमाथि प्रश्न नउठाउन शम्भु थापालगायतका वरिष्ठ अधिवक्ताहरुलाई आग्रह गरे पनि आफ्नो भूमिकामाथि प्रश्न उठाइएको भन्दै न्यायाधीश कार्कीले आफू नरहने घोषणा गरेका हुन्। अब राणाले संवैधानिक इजलासमा नयाँ न्यायाधीश चयन गर्नुपर्नेछ।

संसद विघटनविरुद्ध सर्वोच्चमा दर्जन बढि रिट निवेदन दायर भएका छन्। आजै सुनुवाइका क्रममा पूर्वमहान्यायाधिवक्तासमेत रहेका रमण श्रेष्ठले यो मुद्दाको सुनुवाइ वृहत् पूर्णइजलासमा हुनुपर्ने माग गरेका थिए। 

पुष २२, २०७७ बुधबार १५:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।