प्रहरीको नक्कली फेसबुक ग्रुपबाट बधाई खान्छन् सक्कली प्रहरी

प्रहरीको नक्कली फेसबुक ग्रुपबाट बधाई खान्छन् सक्कली प्रहरी

काठमाडौँ: प्रहरी महानिरीक्षक र प्रहरीको लोगो सहितको फेसबुकको एक समूहको सदस्य छन् एक लाख एक हजार। नाम छ' 'नेपाल प्रहरीNP प्रहरी हाम्रो साथी।'

झट्ट यो पेजमा पुग्दा व्यक्तिले चलाएको हो भनेर ठम्याउन अलि ग्राहै हुन्छ। यो पब्लिक ग्रुपमा अधिकांश बहालवाला प्रहरीहरू जोडिएका छन्। यसका पोस्टहरू प्रहरी गतिविधि सम्बन्धी नै छन्। सन् २०२० जुलाई १४ मा सुरु भएको यो पेज प्रहरी कर्मचारीको तस्बिरले भरिएका छन्। अधिकांश पोस्टहरू प्रहरी अधिकारीहरूको जन्मदिनमा दिइएको शुभकामनाले भरिएको छ।

हेर्दा सक्कली झैँ लाग्ने यो पेजको एडमिन भने प्रहरी हैनन्। यसको प्रमुख हुन् ईश्वर दुलाल। र मोडरेटर मनोज डाँगी अनि राजेश तिमल्सिना।

ईश्वरको फेसबुक प्रोफाइल चहार्दा उनी प्रहरी कर्मचारीका परिचित र प्रिय देखिए। उनको पेज पनि प्रहरी कर्मचारीको जन्मदिन या सरुवा र बढुवाको बधाईले भरिएको छ। उनले गर्ने अधिकांश पोस्टहरू प्रहरी कार्यालय वा प्रहरी अधिकारीलाई ट्याग गरिएका छन्। उनको पेजमा अधिकांश साथीहरू प्रहरी नै छन्।

एक लाख सदस्य भएको प्रहरीको नामको नक्कली फेजबुक समूह र त्यसका तीन सञ्चालक

प्रहरीका उच्च अधिकारीसँग बसेर खिचेको तस्बिर मात्रै हैन प्रहरी कार्यालयमै उनले जन्मदिन मनाएको भिडियो समेत स्टोरीमा सेयर गरेका छन् उनले। उनले फेसबुक पेजमा आफ्ना केही विवरण उल्लेख गरेका छैनन्।

सोही पेजका अर्का एडमिन हुन् मनोज डाँगी। उनले फेसबुक पेज अनुसार उनी हाम्रा खबर डटकमको सेक्युरिटी डिपार्टमेन्ट हेड अनि जर्नालिस्ट हुन्। उनी आर्मी खबरका अध्यक्ष र सिइओ र संस्थापक समेत हुन्।

तेस्रा हुन् राजेश तिमल्सिना। उनको फेसबुक विवरण झन् रोचक छ। उनले आफ्नो फेसबुक प्रोफाइलमा लेखे अनुसार उनी हास्य अभिनेता,  अनि पत्रकार समेत हुन्। उनको प्रोफाइल अनुसार उनी खबर न्युज नेपालका समाचार प्रमुख हुन्।

फेसबुकमा सर्च गर्दा प्रहरीकै पेज जस्तै अर्को पेज देखियो 'नागरिक प्रहरी ब्युरो'। पेजमा प्रहरीको लोगो प्रयोग भएको छ। नागरिक प्रहरी नामक पेजमा प्रहरीकै लोगो राखिएको छ अनि अधिकांश बहालवाला र पूर्व प्रहरी जोडिएका छन् त्यो पेजमा।

प्रोफाइलमा महानगरीय प्रहरी अनि महानगरीय अपराध महाशाखाको तस्बिर राखेको अर्को पेज छ नेपाल प्रहरी अपराध अनुसन्धान। यो बिरानो कान्छोको नाममा खोलिएको देखियो।

साथी मेरो प्रहरीसँगै नेपाल प्रहरी नाम राखेर खोलिएका दर्जन बढी फेसबुक पेज फेला पर्यो जहाँ नेपाल प्रहरीकै लोगो प्रयोग गरिएको छ। अनि सामाग्री प्रहरीकै गतिविधिहरू राखिएका छन्।

नेपाल प्रहरी नाम राखेर खुलेका पेजहरु टन्नै भेटिए

https://www.facebook.com/profile.php?id=100009754483089

https://www.facebook.com/profile.php?id=100034378334959

https://www.facebook.com/lpj.love.9

https://www.facebook.com/profile.php?id=100016840292770

https://www.facebook.com/namrata.oli.96

प्रहरीको लोगो राखेर नेपाल प्रहरी तयारी, नेपाल प्रहरी पोस्ट लगायतका पेजहरू पनि टन्नै खोलिएको भेटियो। केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो नामक पेज माधव पाल्पाको नाममा खुलेको छ। यसमा पाँच हजार सदस्य छन्।

नेपाल प्रहरी निरीक्षक र सहायक निरीक्षक तयारीनेपाल पुलिस तयारी , नाममा पनि टन्नै पेज छन् फेसबुकमा।

नक्कली पेजमा सक्कली प्रहरी

नेपाल प्रहरीको सक्कली पेज

माथि जे जति पेजहरूबारे उल्लेख गरियो ती सबै प्रहरीको नाम र लोगो दुरुपयोग गरेर खुलेका नक्कली पेजहरू हुन्। नेपाल प्रहरीको सक्कली फेसबुक पेज हो नेपालपुलिसएचक्यू। यो फेसबुकले भेरिफाइ समेत गरेको छ। यसमा १४ लाख सदस्य छन्।

प्रहरीका नाममा खोलिएका नक्कली पेज र ग्रुपका सदस्यहरू हेर्दा भने अधिकांश सक्कली छन्। केही पेजहरूमा सुरक्षा सम्बन्धी रिपोर्टिङमा संलग्न सञ्चारकर्मीहरू पनि सदस्य छन्।

सामाजिक सञ्जालहरूमा झुक्काएर नाम या पदको दुरुपयोग गरेमा प्रहरीले विद्धुतिय कारोबार एन अनुसार कारबाही गर्ने गरेको छ। गत साता क्वल हाउसमा प्रहरीको तस्बिर दुरुपयोग गरेको आरोपमा दुई जनालाई पक्राउ गरेर प्रहरीको साइबर ब्युरोले कारबाही समेत गरेको थियो। तर फेसबुकको हकमा भने प्रहरीले हेलचेक्र्याइँ गरिएको देखिन्छ।

लाइकको लोभमा प्रहरी सङ्गठनसँग सरोकारै नराख्ने व्यक्तिहरूले प्रहरीको नाम र तस्बिरहरू दुरुपयोग गरेर बग्रेल्ती ग्रुप र पेजहरू खोले पनि प्रहरीले वास्ता गरेको देखिएन। त्यसको प्रमाण ती नक्कली पेजहरूमा सदस्य रहेका सक्कली प्रहरीहरू नै हुन्। उनीहरू सो पेजले सङ्गठनको नाम र तस्बिर दुरुपयोग गरेकोबारे जानकार छन्। तर सचेत समेत गराएको देखिँदैन।

यस्ता गतिविधिलाई छुट दिएकै हो त ?

साइबर अपराध हेर्ने प्रहरीको साइबर ब्युरोका एसएसपी नवीन्द्र अर्याल सङ्गठनसँग सरोकारै नभएकाहरूले प्रहरीको नाम, तस्बिर र लोगो दुरुपयोग गर्नु गम्भीर अपराध भएको र यसबारे ब्युरोले अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउने दाबी गर्छन्। केही पेजबारे प्रहरी जानकार नभएको हुनसक्ने उनको दाबी छ।

नक्कली पेजहरू बन्द गराउन निश्चित प्रक्रिया रहेकाले केही समय लाग्ने गरेको बताउँदै उनले उकेरासँग भने' जो जसले यस्ता काम गरिरहेका छन् त्यो अपराध हो। प्रहरी सङ्गठनको नाम र तस्बिर दुरुपयोग गर्नेहरूमाथि छानबिन गरेर साइबर क्राइम अनुसार कारबाही हुन्छ।'

२० असार, २०७८, १९:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।