एउटा फिल्म चलाउन धौँधौँ भएको बेला एकै दिन पाँच फिल्म रिलिज, जारीदेखि बुलाकीसम्म एकै दिन भिड्ने

एउटा फिल्म चलाउन धौँधौँ भएको बेला एकै दिन पाँच फिल्म रिलिज, जारीदेखि बुलाकीसम्म एकै दिन भिड्ने

काठमाडौँ : एक्लै प्रदर्शनमा आउँदा पनि लगानी उठाउन गाह्रो छ नेपाली फिल्महरूलाई। त्यसमा पनि कहिले हिन्दी फिल्म त कहिले दक्षिण भारतीय फिल्मसँगको प्रतिस्पर्धाले हैरान।

अर्थ बजार सुस्त भएकाले दर्शकहरू हलमा जान रुचाइरहेका छैनन् अहिले। यही बेला वैशाख १ पारेर एक, दुई हैन पाँच नेपाली फिल्म एक अर्कासँग प्रतिस्पर्धामा उत्रँदै छन्।

नयाँ वर्षको बेलामा फलिफाप हुने आसमा हुनसक्छ हेभिवेट मानिएकै नेपाली फिल्महरू एक अर्कासँग प्रतिस्पर्धाका लागि तयारी गर्दै प्रचारमा समेत उत्रिसकेका छन्।

वैशाख १ मा फिल्म 'बिहे पास', 'जारी', 'बुलाकी' अनि 'प्रसाद-२' प्रदर्शन हुँदै छन्। अब यसैमा फिल्म 'नाइँ नभन्नु ल-६' पनि मिसिएको छ।

'नाइँ नभन्नु ल-६’ले रिलिज मिति वैशाख १ राखेर पोस्टर समेत सार्वजनिक गरिसकेको छ। हुने मिति तय गरेको छ। विकासराज आचार्यले निर्देशन गरेको यो फिल्म सफल सिरिज हो। यो प्रेममा आधारित फिल्म हो।

यस अगाडिका उनका चौथौँ सिरिजसम्म हिट भएका थिए। पाँचौँ सिरिज ठिकठिकै चलेको थियो। वैशाख १ गते नै प्रदर्शन मिति तोकेको 'प्रसाद-२' पनि 'प्रसाद' को सिक्वेल हो। बलात्कारपछि जन्मिएको सन्तानबारे समाजसँगको सङ्घर्ष फिल्मको मूल कथा हो।

पटक-पटक फिल्म निर्माणको घोषणा गरेर निर्देशक र कलाकार परिवर्तन गर्दै फिल्मको सुटिङ बल्ल बल्ल सक्काएको निर्माण टिम अहिले फिल्म निर्माणमा भएको लगानीको विवादमा फसेको छ।

नम्रता श्रेष्ठ अनि निश्चल बस्नेतविना नै बनेको फिल्ममा अर्पण थापा र केकी अधिकारी भित्रिएका छन्। निर्मातामध्येका एक केशव पाण्डेलाई फिल्मको ९० प्रतिशत सेयरको अधिकार दिएर एकतर्फी रूपमा फिल्म निर्माण गरेको भन्दै उनी निर्मातामध्येका एक सुवास थापाविरुद्ध कानुनी कारबाहीको प्रक्रियामा जाने तयारीमा छन्।

फिल्म 'बिहे पास' मा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका छ। फिल्म प्रवेश पौडेलले निर्देशन गरेका हुन्।  फिल्ममा शिशिर बाङ्देल, बुद्धि तामाङ र रवीन्द्र झाको समेत अभिनय छ। फिल्म पारिवारिक प्रेमकथामा बनेको हो।

त्यही दिन दयाहाङ र मिरुना मगरको अभिनय रहेको फिल्म 'जारी' समेत प्रदर्शन हुँदै छ। टिजरनै हिट भएको फिल्म उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्। यो पनि लिम्बु समुदायमा रहेको जारी प्रथा केन्द्रित प्रेम कथामा आधारित फिल्म हो।

फिल्म बुलाकीमा नरेन खड्का, सुरक्षा पन्त र बिराज विष्टको मुख्य भूमिका रहेको छ। रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धन राई, लक्ष्मण देवकोटा लगायतका कलाकारको अभिनय रहेको यो फिल्म पनि वैशाख १ मै प्रदर्शनमा आउँदै छ।

१८ फागुन, २०७९, ११:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।