सन्दीप सहितको नेपाली टिम र यूएईको भिडन्त, लिग-२ मा लगातार छैटौं जित निकाल्ने लक्ष्य

सन्दीप सहितको नेपाली टिम र यूएईको भिडन्त, लिग-२ मा लगातार छैटौं जित निकाल्ने लक्ष्य

काठमाडौं : आईसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक ओडीआई सिरिजमा आज नेपाल र युएईबीच खेल हुँदैछ।

नयाँ प्रशिक्षक मोन्टी देशाई आएपछि सानदार फर्ममा रहेको नेपाल लिग-२ मा लगातार छैटौं जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ।

खेल दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो ११:४५ मा सुरु हुनेछ। घरेलु टिम युएईविरुद्ध यस खेलमा नेपालका भरपर्दा बलर सन्दीप लामिछाने पनि खेल्ने भएका छन्। 

नाबालिग बलात्कार आरोप लागेका सन्दीपलाई सर्वोच्च अदालतले क्रिकेट खेल्नका लागि विदेश जाने अनुमति दिएसँगै उनी हिजो नेपाली टिमबाट खेल्नका लागि यूएई प्रस्थान गरेका हुन्।

उनलाई प्रशिक्षणका दौरान चोटग्रस्त बनेका श्याम ढकालको ठाउँमा टिममा समावेश गर्न अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अनुमति दिएको थियो।

फिटनेस सम्बन्धी अन्य कुनै समस्या नभएमा उनले आजको खेल खेल्ने क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिएका छन्।

नाबालिग बलात्कार आरोप लागेका उनीमाथि उच्च अदालतले लगाएको विदेश जान नपाउने आदेश बदर गर्दै सोमबार सर्वोच्च अदालतले क्रिकेट खेल्नका लागि विदेश जाने अनुमति दिएको थियो।

नेपाल र यूएईबीच हालसम्म ९ एकदिवसीय खेल भएकोमा यूएईले ५ र नेपालले ४ खेल जितेका छन्। तर हाल नेपाल सानदार फर्ममा रहेको छ।

गत हप्ता नेपालमा भएको नामिबिया र स्कटल्यान्डसँगको सिरिजमा नेपालले सबै, चार खेल जितेको थियो। यसपछि यूएई गएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले हराएको थियो।

हाल खराब लयमा रहेको यूएई भने सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीसँग १३१ रनले पराजित भएको थियो।

लिग-२ मा समान २९ खेलबाट यूएई २९ अंकका साथ पाँचौं स्थानमा छ भने नेपाल २८ अंकका साथ छैटौं स्थानमा छ।

यस लिगमा शीर्ष तीनमा पर्न सके नेपालले सोझै एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ। जसका लागि नेपालले अब बाँकी सात खेलमध्ये ६ खेल जित्न आवश्यक छ।

१८ फागुन, २०७९, ०८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।