नारायणी नदी किनारमा १८ करोड लागतमा आरती स्थलसँगै संरक्षणको काम सुरु

नारायणी नदी किनारमा १८ करोड लागतमा आरती स्थलसँगै संरक्षणको काम सुरु

चितवन : नारायणी नदी किनारको १५ बिघा क्षेत्रफलमा आरती स्थल र नदी किनार संरक्षण योजना सुरु भएको छ। बुधवार भरतपुर महानगरपालिकाकी मेयर र उपमेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले संयुक्त रूपमा शिलान्यास गरेका थिए।

शहरी विकास मन्त्रालयले आरती स्थल र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले नारायणी नदी किनारा संरक्षणको योजना अगाडि बढाएको हो।

मेयर दाहालले नारायणी नदी किनारलाई पर्यटक गन्तव्यका रूपमा विकास गरिने बताइन्। नदी कटान पनि रोकिने, घुमफिर गर्न मनोरम स्थल पनि भन्ने भन्दै उनले नदी किनारमा ठुला संरचना भने नबनाउने बताइन्।

नदी किनारलाई धार्मिक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका रूपमा विकास गरिने भन्दै उनले महानगरको गुरुयोजना अनुसारै नदी किनारको सौन्दर्यीकरण काम सुरु भएको बताइन्।

आरती स्थल निर्माण १८ महिनामा पुरा गर्ने लक्ष्य राखिएको छ। दुई वटा आरती प्लेटफर्म महालक्ष्मी–ओम सत्य साई जेभी भरतपुरले निर्माणको ठेक्का पाएको हो। बजेट दुई करोड छुट्टाइएको छ।

नदी किनारा संरक्षणका लागि१५ करोड ९२ लाख लागतमा डाइनामिक कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको हो। १८ महिनामा काम सक्ने गरी पुस ५ गते सम्झौता भएको थियो।

१७ फागुन, २०७९, २२:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।