शाह समूहले २२ जना अमेरिकी नागरिकसँग ठगे ३८ करोड, बेलायती र क्यानडेली पनि ठगिए

शाह समूहले २२ जना अमेरिकी नागरिकसँग ठगे ३८ करोड, बेलायती र क्यानडेली पनि ठगिए

काठमाडौं : प्रहरीले अमेरिकी नागरिकलाई ठगेको अभियोग लागेका पृथ्वीबहादुर शाह सहित १९ जना विरुद्ध चारवटा मुद्दा चलाउन सुझाव दिएको छ। सो समूहले ३८ करोड ठगी गरेको खुलेको छ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शाह, उनका भाइ विजयविक्रम शाहसहितका समूहलाई व्यक्तिविरुद्ध ठगी, लिखत सम्बन्धि कसूर, सहकारी ठगी र संगठित अपराधविरुद्ध मुद्धा चलाउनुपर्ने अनुसन्धानबाट खुल्न आएको जानकारी गराएको हो।

अमेरिकी नागरिकहरु ठगिएको उजुरी नेपालस्थित अमेरिकी राजदुतावासले नै जानकारी गराएपछि पृथ्वीबहादुर शाहसहितका ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो।

अनुसन्धानमा उनीहरुले ठगीबाट आर्जन गरेको सम्पत्ति घर, जग्गालगायतको कारोबारमा लगानी गरेको पनि खुल्न आएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।

सो घटनामा संलग्न पृथ्वीसहित ७ जना पक्राउ परेका छन् भने अन्य १३ जना फरार रहेका छन्। घटनामा संलग्न सबैलाई पीडितलाई क्षतिपूर्ति दिलाइ ७ वर्ष कैद र ७० हजार जरिवाना हुने कानुनी व्यवस्था गरेको पनि प्रवक्ता थापाले बताए।

उनीहरुले ठगीबाट आर्जित गरेको रकम ३८ करोड, ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको खुल्न आएको छ। उनीहरुविरुद्ध हालसम्म २४ जना पीडितले नेपालस्थित अमेरिकी दुतावासमार्फत् उजुरी दिएका छन्।

केही क्यानाडियन र बेलायती नागरिकहरु पनि उनीहरुबाट पीडित भएको खुल्न आएको र अनुसन्धानको कामलाई सुरु गरिएको पनि प्रहरीले जनाएको छ। उनीहरुले अमेरिकी नागरिकसँग अमेजनको विल भुक्तानी, एन्टी भाइरस अपडेटलगायतका विभिन्न निहुँमा सो रकम ठगी गर्ने गरेका थिए।

ठगी गरी नेपाल ल्याएको रकममध्ये एक करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरूले रोक्का गरिदिएका छन्। अमेरिकाबाट नेपाल भित्र्याउन ल्याएको रकम नेपाल राष्ट्र बैंकले रोकेपछि उनले राजनीतिक शक्ति प्रयोग गरेका थिए।

१७ फागुन, २०७९, १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।