आईसीसीले अनुमति दिएपछि यूएई उडे सन्दीप, भोलिको खेल खेल्ने उच्च सम्भावना

आईसीसीले अनुमति दिएपछि यूएई उडे सन्दीप,  भोलिको खेल खेल्ने उच्च सम्भावना

काठमाडौं : सर्वोच्च अदालतले क्रिकेट खेल्नका लागि विदेश जाने अनुमति दिएसँगै राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने नेपाली टिमबाट खेल्नका लागि यूएई प्रस्थान गरेका छन्।

उनलाई प्रशिक्षणका दौरान चोटग्रस्त बनेका श्याम ढकालको ठाउँमा टिममा समावेश गर्न अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अनुमति दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

प्रतियोगिताका क्रममा कुनै देशले आफ्नो स्क्वाडमा परिवर्तन गर्नु परेमा आइसीसीसँग अनुमति लिनुपर्ने हुन्छ।

सन्दीप भर्खरै ३ बजेको फ्लाइटमार्फत यूएई प्रस्थान गरेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए।

‘क्यानले आईसीसीसँग सन्दीपलाई टिममा समावेश गर्नका लागि अनुमति मागेकोमा आईसीसीले अनुमति दियो,’ उनले भने, ‘अब फिटनेस सम्बन्धी अन्य समस्या नभएमा उनले नेपालको भोलि हुने खेल खेल्नेछन्।’ 

नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको यूएईमा जारी एकदिवसीय त्रिकोणात्मक सिरिजमा बिहीबार यूएईसँगै खेल्दैछ। पहिलो खेलमा नेपालले पीएनजीसँग जित निकालिसकेको छ।

नाबालिग बलात्कार आरोप लागेका उनीमाथि उच्च अदालतले लगाएको विदेश जान नपाउने आदेश बदर गर्दै सोमबार सर्वोच्च अदालतले क्रिकेट खेल्नका लागि विदेश जाने अनुमति दिएको थियो। 

क्यानले यसअघि विदेश भ्रमणमा रोक लागेकाले सन्दीपलाई टिममा राख्न नसकिएको र सर्वोच्च अदालतले प्रतिबन्ध फुकुवा गरेपछि उनलाई यूएई पठाउन खोजेको थियो।

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई टिममा समावेश गर्न अन्तराष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)सँग अनुमति मागेको थियो।

नेपालको १५ सदस्यीय टिम शनिवार यूएई गएको थियो।

१७ फागुन, २०७९, १६:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।