सञ्चारमाध्यमसम्बन्धी विधेयक अघि बढाउन तयार छु : सभामुख घिमिरे

सञ्चारमाध्यमसम्बन्धी विधेयक अघि बढाउन तयार छु : सभामुख घिमिरे

काठमाडौं : सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताएका छन्।

बुधबार नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले इञ्जा डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सञ्चारकर्मीहरूको हक अधिकार र व्यावसायिक दक्षताको लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयकहरू अल्झिरहेका, विवादमा रहेर रोकिएकाले तिनीहरूलाई अघि बढाउन आफू तयार रहेको बताए।

घिमिरेले रोकिएका विधेयकहरूमा सञ्चारमाध्यमहरूसँग बसेर छलफल गर्न र संसदमा अघि बढाउने प्रक्रियामा पुग्न आवश्यक रहेको बताउँदै सञ्चारमाध्यमहरूले खोजमुलक र जनतामुखी समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।

अवस्था परिवर्तनको लागि पत्रकारिताको भुमिका महत्वपूर्ण उल्लेख गर्दै समृद्ध समाज बनाउन र प्रजातन्त्रलाई बलियो बनाइ राज्य सञ्चालनका अंगहरू व्यवस्थापिका र कार्यपालिकालाई प्रभावकारी बनाउन सञ्चारमाध्यमहरूको भूमिका उल्लेखनीय रहेको बताए।

इञ्जाले इञ्जा बौद्धिक पत्रकारिता पुरस्कारबाट जगत नेपाल र माधवप्रसाद तिवारीलाई सम्मान गरेको छ भने इञ्जा खोजी पत्रकारिता पुरस्कार, २०७९ बाट मात्रिका दाहाल र तारा वाग्लेलाई सम्मान गरेको छ।

त्यस्तै ग्रामिण पत्रकारिता पुरस्कार, २०७९ बाट सरिता चलाउनेलाई सम्मान गर्दा फोटो पत्रकारिता पुरस्कार, २०७९ बाट सुरेशकुमार श्रेष्ठ र नरेन्द्र श्रेष्ठ सम्मानित भएका छन्।

१७ फागुन, २०७९, १३:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।