इन्द्रपुरका किसानलाई तरकारी नबिक्ने चिन्ता

इन्द्रपुरका किसानलाई तरकारी नबिक्ने चिन्ता

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–१३ मा पर्ने इन्द्रपुर गाउँ छ। वीरेन्द्रनगर बजारदेखि करिब सात किलोमिटरको दूरीमा पर्ने यो गाउँका स्थानीयहरूको कमाइको मुख्य आधार नै तरकारी खेती हो। झुप्रा खोलाको किनारमा रहेको इन्द्रपुर बस्ती तरकारी उत्पादन ब्लक क्षेत्रका रूपमा पनि परिचित छ।

अघिल्ला वर्ष ऋण तिरेर केही रकम जोगाएका कृषक यसपटक ऋण तिर्नसमेत नपुग्ने मूल्यमा तरकारी बेच्नुपर्ने अवस्था आइपरेपछि कृषकले तरकारी बारीमै थन्किएको छ। फूलगोभी, बन्दागोभी, केराउ लगायतका तरकारीले बजार र उचित मूल्य पाएको छैनन्। तरकारीले नै घरव्यवहार चलाएका कृषक अहिले बारीको तरकारी हेरर बस्छन्।

विगतका वर्षमा बारीबाटै ३० रूपैयाँ प्रतिकिलो मूल्यमा बिक्री हुने तरकारी यो पटक १३ रूपैयाँमा पनि बिकेको छैन। समयमै तरकारी बिक्री नहुँदा तरकारी उत्पादन गर्दाको लागतसमेत उठ्दैन की भन्ने चिन्तामा छन्, स्थानीय कृषक नरबहादुर शाही।

‘मैले तरकारी खेती गर्न थालेको १२ वर्ष भयो, अहिले जस्तो त कहिल्यै पनि भएन। यो वर्ष मूल्य नपाउँदा तरकारी बारीमै खेर जाने भो,’ शाहीले भने, ‘विगतमा ३० रूपैयाँसम्म बिक्री भएको तरकारी अहिले बारीमै १३ रूपैयाँ मूल्यमा दिन्छौं भन्दा पनि बिक्दैन।’

पाँच कठ्ठा जमिनमा फूलगोभी, बन्दागोभी, केराउ लगायतको तरकारी लगाएका शाहीको सात जनाको परिवारको तरकारी खेतीमै आश्रित छ। बारीको तरकारी नबिक्दा शाहीलाई घरव्यवहार चलाउनै सकस पर्न थालेको छ।

व्यापारीले भनेको समयमा तरकारी नउठाउँदा बारीमै कुहिने अवस्थामा तरकारी पुगेको अर्की कृषक डिलसरा मन्दीर बताउँछिन्। ऋण लिएर खेती गरेकी मन्दीर तरकारी नउठे जीविकोपार्जनमै समस्या निम्तिने बताउँछिन्।

‘मण्डीवालाले भनेको समयमै तरकारी नउठाउँदा बारीमा बारीमै कुहिने चिन्ताले सतायो,’ उनले भनिन्, ‘ऋण लिएर तरकारीमा लगानी गरियो, बिक्री नहुँदा कसरी परिवार पाल्ने? कसरी ऋण तिर्ने अनि लागत खर्च कसरी उठाउने? के हामीले यही खोलाको ढुंगा बालुवा खानू अब?’

यहाँका कृषकहरूले वर्षमा १ करोडभन्दा बढिको करोबार गर्छन्। दुई सय घरधुरी रहेको इन्द्रपुरमा परम्परागत कृषि छोडेर ५० जना कृषक व्यावसायिक खेतीमा लागेका छन्। ५० विगाह खेतीयोग्य जमिनमध्ये १७ विगाहमा यहाँका कृषकहरूले छुट्टा–छुट्टै तरकारी खेती गरिरहेका छन्।

शाही र मन्दीर मात्रै हैन, तरकारी उत्पादन गरिरहेका अन्य कृषकहरू पनि बिक्री नहुँदा समस्यामा छन्। वीरेन्द्रनगर बजारमा रहेका तरकारी मण्डीहरूले बाहिरबाट तरकारी ल्याएकोले पालो कुर्न भनेपछि उनीहरू थप चिन्तामा छन्।

यता प्रदेशको कृषि मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाय बेमौससी भन्दा मौसमी तरकारी उत्पादन बढि हुँदा इन्द्रपुरको तरकारीले समयमै बजार र मूल्य नपाएको बताउँछन्।

‘यो सिजनमा अधिकांशले फूलगोभी, टमाटर, बन्दागोभी, केराउ लगायतका तरकारी उत्पादन गरिरहेका छन्। सबैतिरबाट वीरेन्द्रनगरमा यही प्रकृतिको तरकारी आउँदा यहाँको तरकारीले मूल्य र बजार नपाएको सत्य हो,’ उनले भने, ‘कृषकले मिहिनेतले उत्पादन गरेको तरकारी बारीमै कुहिएर खेर जान नदिन बुलबुले हाटबजारसँग सहजीकरण गरिरहेका छौं।’

रोकायले कृषकलाई मौसमी सँगसँगै बेमौसमी तरकारीको खेती गर्नसमेत आग्रह गरे।

१७ फागुन, २०७९, ११:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।