रित्तिदै पहाडी गाउँ, डाँडाका टुप्पा-टुप्पामा विमानस्थल

रित्तिदै पहाडी गाउँ, डाँडाका टुप्पा-टुप्पामा विमानस्थल

बुटवल : गुल्मीको रेसुंगा विमानस्थलमा तारा एयरले २४ पुसमा परीक्षण उडान गर्यो। परीक्षण उडान सफल भएपछि विमानस्थलमा उडानको तयारी पनि गर्यो। तर, पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनापछि तत्कालका उडान टरेको छ।

ताराले तत्काल उडान नगर्ने भएपछि नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले अब नियमित उडान गर्ने तयारी गरेको छ। बुधबार नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले प्रुभिङ उडान गर्ने र त्यसपछि नियमित उडान गर्ने रेसुंगा नगरपालिकाकाका नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए।

२०६३ मा शिलान्यास भएर १६ वर्षपछि नियमित उडान हुन लागेको यो विमानस्थलबाट नियमित उडान भए गुल्मी, अर्घाखाँची, प्यूठान, बागलुङ, पाल्पासहितका जिल्लाका यात्रुले सेवा पाउनेछन्। काठमाडौंसँगको दूरी जम्मा १ घण्टाको हुने भएकाले पनि यो विमानस्थल सफल हुनेमा पन्थी विश्वस्त छन्।

उनले भने‚ ‘सडक मार्ग हुँदै काठमाडौं जान १० घण्टा भन्दा बढि समय लाग्ने भएकाले छोटो यात्राका लागि विमानस्थल सफल हुन्छ।’

तर, पहाडी विमानस्थल सफल भएका त्यति उदाहरण छैनन्। किनकी तीव्र बसाइँसराइँले गाउँबस्ती रित्तिँदैछन्। धेरै मानिस रोजीरोटी र रोजगारीका लागि तराई झरिरहेका छन्। गाउँघरमा मानिस कम हुँदै जाँदा विमानले यात्रु नपाउने र उडान नै स्थगित गर्नुपर्ने अवस्थासमेत आउने आशंकासमेत गर्न थालिएको छ।

यद्यपि नगरप्रमुख पन्थी भने रेसुंगा विमानस्थलमा नियमित उडान हुने दाबी गर्छन्।

‘नगरपालिका र नेपाल एयरलाइन्सबीच भएको सम्झौता अनुसार प्रति उडान-अवतरण कुल सिट क्षमताको ३० प्रतिशत रेसुंगा नगरपालिकाले यात्रु ग्यारेन्टी गरेको छ‚’ उनले भने‚ ‘साताको एक दिन सोमबार मात्र नियमित उडान हुने गरी सम्झौता भएको छ र यात्रु नपाएरै उडान नहुने हुँदैन।’

तथ्यांक भन्छ- गाउँ रित्तियो
लुम्बिनी प्रदेशका १०९ मध्ये ३० पालिकामा २०६८ भन्दा २०७८ को जनगणनामा जनसंख्या घटेको छ।

राष्ट्रिय जनगणनाको दस वर्षको पछिल्लो तथ्यांकअनुसार लुम्बिनी प्रदेशका पहाडि जिल्लाहरूमा जनसंख्या २ दशमलव ३९ प्रतिशतले घटेको छ। तराईका केही पालिकाहरूमा ३ दशमलव ८५ प्रतिशत जनसंख्या वृद्धि भएको तथ्यांकले देखाउँछ।

पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा र प्यूठानका २८ वटा पालिकामा २०७८ मा जनसंख्या घट्दा तराईमा अवस्थित बर्दियाको गेरुवा र दाङको बंगलाचुली गाउँपालिकाको मात्रै जनसंख्या घटेको छ।

अर्घाखाँचीमा पाँच वटा पालिकाको जनसंख्या घटेको छ। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा १० वर्षमा शून्य दशमलव ३३ प्रतिशतले जनसंख्या बढेको छ।

पछिल्लो दस वर्षमा लुम्बिनी प्रदेशका पहाडी जिल्ला रोल्पा र रुकुमका पालिकाहरूमा भने जनसंख्या केही स्थिर देखिएको छ। लुम्बिनीको समग्र जनसंख्या भने १३ दशमलव ७९ प्रतिशतले बढेको छ।

यसरी जनसंख्या घट्ने जिल्लामध्ये गुल्मी पनि एक हो। पछिल्लो तथ्यांकअनुसार अर्घाखाँचीमा पनि पाँचवटा पालिकाको जनसंख्या घटेको छ। सन्धिखर्क नगरपालिकामा १० वर्षमा शून्य दशमलव ३३ प्रतिशतले जनसंख्या बढे पनि गाउँमा मानिस बस्न छाडेका छन्।

गाउँ रित्तिदै, विमानस्थल थपिँदै
गाउँ छाड्ने लहर चलिरहँदा अर्घाखाँचीको पहाडमा पनि विमानस्थल बन्दैछ। सन्धिखर्क नगरपालिका-१० स्थित विमानस्थलमा ४८ सिट क्षमताका जहाज ल्याउने भनेर अहिले धावनमार्ग १ हजार ६०० मिटरको बनाउने कार्य भइरहेको छ।

विमानस्थलको एमाले सचिव तथा अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले ३ पटकसम्म शिलान्यास गरिसकेका छन्। विमानस्थलमा अहिलेसम्म ३० करोडभन्दा बढि लगानी भइसकेको छ। तर, विमानस्थलमा जहाज उड्नेबारे टुंगो लागेको छैन।

प्यूठानको स्वर्गद्वारी नगरपालिका-८ सल्लेटारमा पनि स्वर्गद्वारी विमानस्थल निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ। जिल्लाबाट निर्वाचित एमाले सांसद् सूर्य थापाले विमानस्थल बनाउने चुनावी नारा समेत बनाएका थिए।

दाङमा ७ अर्ब रूपैयाँभन्दा बढि खर्चेर बनेको टरीगाउँ विमानस्थल अझै नियमित सञ्चालनमा आएको छैन। तुलसीपुर उपमहानगरपालिका-१० स्थित विमानस्थलमा वि.सं. २०१० सालमै पहिलो जहाज अवतरण भएको थियो।

२०६९ सालमा निर्माण पूरा भएको विमानस्थलमा बल्ल सीता एअरले हप्ताको एक पटक उडान भर्ने भएको छ। तर यात्रु नहुने डर कम्पनीलाई छ। यो ६ दशकभन्दा पुरानो विमानस्थल हो।

पहाडी जिल्लामा मानिसहरूको बसाई घट्दासमेत विमानस्थल मात्र थप्दै जानुले पहाडमा विमानस्थलको औचित्य र आवश्यकताको पुष्टि सरकारले गर्नुपर्ने सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णकुमार श्रेष्ठले बताए। उनले अर्घाखाँचीको विमानस्थल पनि चल्न नसक्ने बताए।

तुलसीपुर उप-महानगरपालिकाका प्रमुख टीकाराम खड्का निजी विमान कम्पनीहरूलाई उडान भर्न आकर्षित गरिए पनि नआउँदा दाङमा विमानस्थलले समस्या झेल्नुपरेको बताउँछन्।

१२ जिल्ला रहेको लुम्बिनीमा २ वटा विमानस्थल मात्र व्यवस्थित रूपमा चलेका छन्। नेपालगञ्ज विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल।

१६ फागुन, २०७९, ०९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।