चिकित्साजन्य फोहोर सिसडोल पुर्‍याउनेलाई महानगरको ५० हजार जरिवाना

चिकित्साजन्य फोहोर सिसडोल पुर्‍याउनेलाई महानगरको ५० हजार जरिवाना

काठमाडौं : सिसडोल ल्याण्डफिल साइटमा चिकित्साजन्य फोहोर पुर्याउनेलाई काठमाडौं महानगरपालिकाले ५० हजार रूपैयाँ जरिवाना गरेको छ।

वडा ५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका प्रयोग गरेका सिरिञ्जलगायत सामान साइटमा पुर्याएको थियो।

महानगरले फोहोर व्यवस्थापनसँग सम्बन्धित अनधिकृत क्रियाकलापलाई नजिकबाट निगरानी गरिरहेको महानगरले जनाएको छ।

जरिवानाका विषयमा वातावरण तथा कृषि विभागका प्रमुख रविनमान श्रेष्ठ भन्छन्, ‘कानूनले बर्जित गरेका फोहोर साइटमा लैजाने जोसुकैलाई पनि कारबाही गर्छौं।’

अहिले काठमाडौंसहित उपत्यकाका सबै नगरको फोहोर बञ्चरे डाँडास्थित साइटमा व्यवस्थापन भइरहेको छ। यहाँ सामान्य फोहोर मात्र लैजान मिल्छ।

हानीकारक फोहोरलाई उत्पादक आफैँले निर्मलीकरण गरेर सामान्य फोहोरमा बदल्नुपर्छ। त्यसपछि सामान्य प्रक्रियाबाट लैजान सकिन्छ।

१५ फागुन, २०७९, २१:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।