नेपाल कर्मश क्याम्पसको यौन दुर्व्यवहारको घटना प्रहरी कार्यालय पुग्दा 'दबाबमा मिलापत्र', जोगाउने बहाना खोज्दै त्रिवि

नेपाल कर्मश क्याम्पसको यौन दुर्व्यवहारको घटना प्रहरी कार्यालय पुग्दा 'दबाबमा मिलापत्र', जोगाउने बहाना खोज्दै त्रिवि

काठमाडौँ : शैक्षिक भ्रमणको नेतृत्व गर्दै चितवन पुगेका नेपाल कर्मश क्याम्पसका बिबिएम कार्यक्रमका प्रमुख महेन्द्र अयार्लमाथि विद्यार्थीहरूले यौन दुर्व्यवहारको आरोप लगाएपछि चितवनको टाँडीमा रहेको इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लियो।

माघ १३ गते ३६ जना विद्यार्थी चितवन पार्क कटेज  होटेल सौराहामा रहेका थिए। चितवन जिल्ला प्रमुख रामेश्वर कार्कीका अनुसार होटेल प्रमुखले विद्यार्थी र उपप्राध्यापक महेन्द्र अर्याल बिच विवाद भएको भन्दै प्रहरीलाई खबर गरेका थिए।

होटेलबाट खबर आएपछि सौराहा इलाका पर्ने टाँडी प्रहरी वृत्त प्रमुख डिएसपी रविन राज रेग्मीको नेतृत्वमा प्रहरी होटेल पुगेको थियो।

होटलमै विवाद भएपछि विद्यार्थी र उपप्राध्यापक अर्याल समेतलाई नियन्त्रण लिई ३ घण्टा जति प्रहरी कार्यालयमा छलफल गराइएको थियो।

कार्कीका अनुसार छलफलमा विद्यार्थीले उपप्राध्यापकलाई कारबाही स्वरूप बिबिएम निर्देशकबाट हटाउनु पर्ने माग राखेका थिए।

प्रहरीले यो क्याम्पसको आन्तरिक काम भन्दै उजुरी दिने भए दिनु भन्दा विद्यार्थीहरू दुई भागमा बाँडिएपछि उजुरी नदिएको दाबी गरे।

‘मैले बुझे अनुसार विद्यार्थीलाई अभद्र व्यवहार गरेको, बोलेर गरिने हिंसा भएको देखिएको थियो। हामीले तपाईँहरूले उजुरी दिनु भयो भने अनुसन्धान हुन्छ निर्देशकबाट हटाउने काम हाम्रो होइन भनेका थियौँ। विद्यार्थीहरू दुई भागमा बाँडिए,’कार्कीले भने,‘पछि विद्यार्थीले उजुरी नदिने भनेपछि हामीले अब आइन्दा यस्तो दुर्व्यवहार शिक्षकले नगर्ने भनेर मौखिक उजुरीका आधारमा लिखित सहमति गराएर छाडिदियौँ।’

यो पनि

 तर नेपाल कर्मश क्याम्पसका स्रोतका अनुसार उजुरी दिने मनसायमै रहेका  विद्यार्थीलाई धम्की दिएपछि पछि हटेका थिए।

नाम नबताउने सर्तमा एक कर्मचारीले भने, ‘महेन्द्र अर्याल प्रजातान्त्रिक प्राध्यापक सङ्घ सँगै आबद्ध हुनुहुन्छ। पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई अर्याल सरले फोन गर्नु भएपछि उजुरी दर्ता भएन।’

पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफूलाई घटनाबारे कुनै जानकारी नभएको दाबी गर्दै भने ‘मलाई त त्यो घटना भएको थाहै थिएन। चितवन गएको पनि छैन। मैले कसैलाई फोन गरेको पनि छैन।’

चितवन प्रहरी प्रमुख रामेश्वर कार्की पनि पूर्व गृहमन्त्री खाँणबाट कुनै दबाब नआएको दाबी गर्छन्। डिएसपीलाई सोध्दा विद्यार्थी आफैँले मिलापत्र गर्ने र निर्देशकबाट हटाउन माग गरेको बुझिएको बताए।

‘फोर्सफूल’ बिदामा राख्ने त्रिविको तयारी

नेपाल कमर्स क्याम्पसले बिबिएम कार्यक्रमको निर्देशकबाट अयार्ललाई हटाइसकेको छ। विद्यार्थीले क्याम्पस हाता भित्रै प्रवेश गर्न नदिने बताएपछि त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा घटनाको विवरण सहित नेपाल कमर्स क्याम्पसले पत्र पठायो।

त्रिविको लैङ्गिक हिंसा कारबाही सम्बन्धी कार्यविधि अनुसार शिक्षाध्यक्षले यस्ता मुद्दा हेर्छन्। त्रिवि शिक्षाध्यक्ष शिवलाल भुसालका अनुसार अनुगमन समितिका प्रमुख विष्णु अर्याल ३ सदस्यीय छानबिन समिति गठन भएको छ। सो समितिले प्रतिवेदन बुझाएपछि फोर्सफूल बिदामा राख्ने की के गर्ने टुङ्गो लाग्ने उनले बताए।

‘समितिले केही दिनमा प्रतिवेदन देला। सरुवा गर्दा पनि अर्को क्याम्पसमा यस्तो घटना नहोला भन्न सकिन्न। मौखिक र सामूहिक मौखिक दुर्व्यवहार भएकाले सुध्रिनलाई कारबाही स्वरूप केही महिना फोर्सफूल बिदा राख्नेकी भन्ने छलफल भइरहेको छ’ उनले भने।

७ फागुन, २०७९, २०:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।