द्वन्द्वमा दुई छोरा गुमाएकी तुल्सालाई हरेक वर्ष पीडा मात्र थप्न आउँछ ‘जनयुद्ध दिवस’

द्वन्द्वमा दुई छोरा गुमाएकी तुल्सालाई हरेक वर्ष पीडा मात्र थप्न आउँछ ‘जनयुद्ध दिवस’

बुटवल : हरेक वर्ष आउने ‘जनयुद्ध दिवस’ ले रुपन्देहीको सैनामैनास्थित बासगढिकी तुल्सा पाण्डेलाई रुवाएर जान्छ। वर्षको एकफेरी फागुन १ गते उनको हातमा अभिनन्दन पत्र थमाइन्छ, जसले उनको पीडा बल्झाईदिने काम मात्र गर्छ।

घरको भित्तामा रहेका काठका फ्रेममा रातो हँसिया हतौडासहितका यस्तै अभिनन्दन पत्र र प्रमाणपत्रका लस्कर छन्। २२ औं ‘जनयुद्ध दिवस’..., २३ औं ‘जनयुद्ध दिवस’.... इत्यादि।

जसलाई हेरेर टोलाउने बाहेक अर्को विकल्प छैन उनीसँग।

गणतन्त्र र नयाँ जनवादी सत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गर्यो। त्यही युद्धको सुरुवाती दिनलाई माओवादीले ‘जनयुद्ध दिवस’को रुपमा मनाउने गरेको छ।

यसै फागुन १ मा पनि माओवादीले ‘जनयुद्ध दिवस’ मनायो। त्यही ‘जनयुद्ध दिवस’को दिन तुल्साको त्यो फ्रेममा एउटा अर्को फगत प्रमाणपत्र थपियो, पुराना घाउलाई चस्काउँदै।

त्यही फ्रेमको ठिक तल अर्को फ्रेममा ३ वटा तस्बिरहरु छन्, दुई छोराका। तुल्सालाई ती दुई फरक फ्रेममा राखिएका तस्बिरहरुले झस्काउँछ, रुवाउँछ र पीडा दिन्छ।
....
नेपालमा १० वर्ष सशस्त्र द्वन्द्व भयो। करिब १७ हजारले ज्यान गुमाए, हजारौं मानिस अंगभंग भए, कतिका सन्तान बेपत्ता पारिए।

१० वर्षे सशस्त्र युद्ध पछि विस्तृत शान्ति सम्झौता भयो। देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो। तीन तहका सरकार बने। देश अहिले समृद्धिको अभियानमा छ।

तर त्यही द्वन्द्वको समयमा बेपत्ता पारिएका छोरो फर्कने आशमा ७१ वर्षिया तुल्सा पाण्डे अझै बाटो कुरेर बसिरहेकी छन्। छोरो फर्कने आशले मात्र उनी बाँचिरहेकी छन्।

रुपन्देहीको सैनामैना स्थित बासगढी चोकबाट ३ सय मिटर उत्तर गएपछि तुल्सा पाण्डेको घर छ।

त्यही घर अहिले तुल्साको लागि सबैथोक हो। सहारा हो, भरोसा हो। त्यति मात्र हैन, आफ्ना सुख र दुःखका आँशु चुहाउने थलो पनि हो।

२०४५ सालमा गुल्मीको बाँझखर्कबाट तराई झरेकी तुलसाका श्रीमान् झविन्द्रको २०४४ सालमै हृदयघातबाट मृत्यु भयो।

देशलाई परिर्वतन गर्ने भन्दै द्वन्द्वमा होमिएका तुल्साका जेठा छोरा दुर्गा र कान्छा छोरा युवराज दुवै अहिले साथमा छैनन्।

२०६० साल असोज १९ गते लुम्बिनीको सुन्डियाबाट प्रहरीको गिरफ्तारीमा परेका कान्छा छोरा युवराजको अहिलेसम्म न त सासको पत्तो छ न त लासको। तुल्सा आफ्नो कान्छो छोरा आउने आशमा १९ वर्षदेखि पर्खिएर बसिरहेकी छन्।

‘प्रहरीले लगेको छ भनेर अरुले भन्छन्, अरु केही थाहा छैन। अहिले पनि कतैबाट आउँछ कि भनेर आशमा बस्ने गरेकी छु,’ तुल्सा भन्छिन्।

कान्छो छोरा बेपत्ता भएको ५ महिनामै तुल्साका जेठा छोरा दुर्गा नेपाली सेनाबाट मारिए।

सैनामैनाकै सेरुवामा २०६० साल फागुन १७ गते दुर्गालाई गोली हानेर आर्मीले मारेको थियो। दुई सन्तान द्वन्द्वमा गुमाएकी तुल्साको घर अहिले सुनसान छ।

द्वन्द्वमा हतियार उठाएको माओवादी सत्तामा पुगे पनि शहिद तथा बेपत्ता परिवारहरुलाई राज्यले उपेक्षा गरेको तुल्सा बताउँछिन्।

‘जे होला भन्ने लागेको थियो, केही भएन। सबै स्वार्थी भए। बेपत्ता र शहिदका नाममा केही पैसा दिएर जिम्मेवारीबाट उम्के जस्तो गर्छ अहिले माओवादी,’ उनी भन्छिन्।

उनी आफू जस्तै बेपत्ता तथा शहिद परिबारहरुलाई रोजगारीको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताउँछिन्।

तर उनी जस्ताका पीडा देख्ने कसले? अहिले त तुल्सालाई कसैसँग केही आश पनि छैन। मात्र छोराको सासको आशामा छिन्।

वर्षौदेखिको छोरो फर्कने उनको आशा पूरा हुन्छ या आशैआशमा जीवन बिताउनु पर्ने हो, उनैलाई समेत थाहा छैन।

अभाव र शोककाबीच पनि सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका छोराहरूको सम्झनामा तुल्साले कल्याणकारी काम गरेकी छन्।

बासगढीबाट ३०० मिटर अगाडि ३ लाख रुपैयाँ खर्च गरेर उनले छोराहरूको नाममा ‘शहीद तथा बेपत्ता स्मृति गेट’ बनाइन्।

राज्यले दिएको धनबाट छोराहरु साथमा नभए पनि उनीहरूको स्मृति जोगाइराख्न आफूले गेट निर्माण गरेको उनी बताउँछिन्। 

तुल्सा अझै छोरा आउने आशमा छिन्। तर आउलान् या नआउलान् उनीसँग यसको कुनै जवाफ छैन।

५ फागुन, २०७९, १५:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।