बटौली, खस्यौलीदेखि नयाँ बुटवलसम्म

बटौली, खस्यौलीदेखि नयाँ बुटवलसम्म

बुटवल : बुटवल उपमहानगरपालिकाले ६४औं स्थापना दिवस मनाउँदैछ।

बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ।

स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको उमहानगरले बुधबार मूल समारोह तथा सम्मान कार्यक्रम आयोजना गरेको प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।

सप्ताहव्यापी कार्यक्रमअन्तरगत अन्तरपालिका जनप्रतिनिधि मैत्रीपूर्ण फुटबल, पत्रकार र राजनीतिक दलबीच भलिबल, कर्मचारीहरूका बीचमा भलिबल, टेबुलटेनिस, घैटोफोरलगायतका कार्यक्रम सम्पन्न भएका छन्।

बटौली, खस्यौलीदेखि नयाँ बुटवलसम्म
बुटवललाई पञ्चायती व्यवस्थामा बुटवल–खस्यौली नगरपञ्चायत भनिए पनि २०४६ सालपछि बुटवल नगरपालिका भन्न थालियो। २०७१ साल मंसिरमा उप–महानगरपालिकामा स्तरोन्नति भएको बुटवल पश्चिम नेपालकै प्रमुख शहरका रूपमा परिचित छ।

विगतमा अहिलेको मुख्य बजारभन्दा तिनाउ पारी थियो बटौली बजार। २० को दशकतिर वारी खस्यौलीमा पनि बजार र बस्ती बस्न थाले। २०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलको कार्यालय भएको ठाउँ हाटबजारलाइनमा सर्यो।

खस्यौलीमा पूर्वाधारहरू थपिदैँ गएपछि बजारले बुटवल शहरको रूप लियो। बुटवलबाट दक्षिण र पश्चिम बस्ती विस्तार हुँदै गयो। पछिल्लो समय बुटवल मुलुकको महत्वपूर्ण अनि पूर्वाधारयुक्त शहरको रूपमा स्थापित भएको छ।

६ लेनका फराकिला सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थलजस्ता राष्ट्रिय स्तरका संरचनाले बुटवलको प्रतिष्ठा बदल्दै छ। देवीनगर, मगरघाटमा बनेका पक्की पुलले विभिन्न ठाउँमा जाने मार्गलाई सहज बनाएको छ।

मुन्निलालदेखि खेलराजसम्मको नेतृत्व
तत्कालीन बुटवल खस्यौली नगरपालिकाको पहिलो नेतृत्व मुन्निलाल शाक्यले (२०१६–२०१७ साल) गरे। शाक्यपछि ओमशंकर श्रेष्ठ (२०१९–२०२३ साल), परीक्षितप्रसाद लाकौल (२०२४–२०२६ साल), सरस्वतीप्रसाद शेरचन (२०२६–२०२८ साल र पुनः २०३३ देखि २०३६ साल), हरिबहादुर सिंह (पहिलो पटक २०२८ मा प्रधानपञ्चमा र यो सहित चार–पटकसम्म प्रधानपञ्च), सूर्यलाल वि.सं. (२०३०), बृजमान श्रेष्ठ (२०३६–२०३९) प्रधानपञ्च भए।

प्रजातन्त्र पुनःस्थापनापछि भएको स्थानीय चुनावमा सू्र्यप्रसाद प्रधान (२०४९–२०५३) र भोज प्रसाद श्रेष्ठ (२०५४–२०५९) नगरप्रमुख बने। सूर्यबहादुर थापा नेतृत्वको सरकारबाट मनोनित भएर २०६० सालमा पुनाराम पोखरेलले पनि नगरप्रमुख भएर केही समय नेतृत्व गरे।

माघ १९ पछिको शाही सरकारले गराएको नगरपालिका चुनावबाट रुपसिंह थापा थोरै समयको लागि नगरप्रमुख बने पनि लोकतन्त्र स्थापनापछिको सरकारले निर्वाचनलाई नै खारेज गर्यो।

१५ वर्ष जनप्रतिनिधिविहीन भएको बुटवल उपमहानगरपालिकामा २०७४ साल असारमा भएको निर्वाचनबाट शिवराज सुवेदी प्रमुख र गोमादेवी आचार्य उपप्रमुख भई कार्यभार समाले।

नेपालको संविधान कार्यान्वयन भएपछिको दोश्रो कार्यकालका लागि २०७९ वैशाख ३० मा भएको निर्वाचनबाट नगर प्रमुखमा खेलराज पाण्डेय र उपप्रमुखमा सावित्रादेवी अर्याल निर्वाचित भएका छन्।

३ फागुन, २०७९, १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।