अस्पताल बन्द गर्ने संघको निर्णयप्रति निजी अस्पताल सञ्चालकको विमति, भन्छन्– ‘पान पसल हो र?’

अस्पताल बन्द गर्ने संघको निर्णयप्रति निजी अस्पताल सञ्चालकको विमति, भन्छन्– ‘पान पसल हो र?’

काठमाडौं : नेपाल चिकित्सक संघले राष्ट्रपतिको सवारीको समयमा राष्ट्रिय ट्रमा सेन्टरका बरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह पिटिएकोप्रति विरोध जनाउँदै आइतबार देश भरका आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णयप्रति निजी स्वास्थ्य संस्थाले विमती जनाएका छन्।

उचित विधि स्थापित गर्न भन्दै चिकित्सक संघको शनिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको थियो।

तर, निजी स्वास्थ्य संस्थाको छाता संगठन एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युशन नेपाल (अफिन)का अध्यक्ष डा. पदम बहादुर खड्का भने विरोध स्वरुप स्वास्थ्य संस्थाको सेवा नै बन्द गर्नु समाधानको उपाय नभएको बताउँछन्।

‘स्वास्थ्य संस्था बन्द गर्नु कुनै सोलुशन हैन। त्यो जरुरी छैन,’ उनले भने, ‘इमर्जेन्सी सर्भिस दिन्छौं, अरु दिँदैनौं भन्नुहुन्छ। अरु पनि हुन्छ नि! रुटिङ्ग अप्रेशन हुन्छ। जाँच हुन्छ।’

यसरी अस्पतालको सेवा बन्द हुँदा टाढा–टाढाबाट अस्पताल पुगेका बिरामीले दुःख पाउने अध्यक्ष खड्काले बताए।

‘काठमाडौंमा उपचार गर्न देशका ७७ वटा नै जिल्लाबाट आउँछन्,’ उनले थपे, ‘भोलि बन्द भयो भने फेरि दुई महिनापछि जाला अप्रेशनको मिति। अनि के गर्ने?’

निजी मेडिकल कलेका अध्यक्ष तथा विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्र मानसिंह कार्की पनि कुनै पनि बहानामा बिरामीले दुःख पाउन नहुने बताउँछन्। स्वास्थ्य संस्थाको सेवा बन्द गर्नुपूर्व के कारणले बन्द गर्न लागिएको हो भन्ने ठोस निर्क्योलमा पुग्नुपर्ने उनको तर्क छ।

‘एकैचोटी बन्द नै गरिहाल्नुपर्ने पक्षमा म त कहिल्यै पनि छैन,’ उनले भने, ‘स्वास्थ्य क्षेत्र बन्द गर्नु भन्दा पहिले त्यसको स्ट्रङ्ग रिजन हुनुपर्छ। बन्द गरेपछि त्यसको जस्टिफाइ गर्न सक्नुपर्छ। यो पानको पसल त हैन।’

कुनै पनि बहानामा नागरिक कुटिन नहुने भन्दै उनले कुटिहालेको खण्डमा बुझ्ने समय दिनुपर्ने बताए।

‘किन कुटिएको हो? व्यक्ति कुटिएको हो या व्यावसायिक चिकित्सक कुटिएको हो, ड्युटीमा कुटिएको हो की हैन?,’ डा. कार्कीले भने।

यस्ता घटनाको सवालमा राज्य संवेदनशील हुनुपर्ने उनी बताउँछन्। त्यसैगरी चिकित्सकहरूका संस्थाले समेत चिकित्सक पिटिने जस्ता घटना भएको खण्डमा के गर्ने भन्ने विषयमा संयन्त्र बनाएर तुरुन्तै एक्सनमा जानुपर्ने सञ्चालक डा. कार्कीको तर्क छ।

डाक्टरको मार्ग रोकिए बिरामीको ज्यानै जोखिम हुने भएकाले डाक्टरको बाटो रोकिन नहुने सञ्चालक डा. कार्कीले बताए।

त्यसैगरी अफिनका बागमती प्रदेश अध्यक्ष चण्डेश्वर वैद्य पनि अस्पतालको सेवा बन्द गर्नु समस्या समाधानको उपाय नभएको बताए। अन्य प्रक्रियाले समस्या समाधान गर्नुपर्नेमा उनको जोड छ।

‘बन्द गर्दैमा समस्या सामाधान हुने त हैन’, उनले भने।

उता, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की भने सांकेतिक रूपमा ओपिडि मात्रै बन्द गर्ने निर्णय गरेको तर्क गर्छन्।

‘काम नै नगरेको त हैन। इमर्जेन्सी चालु छ। इन पेशेन्ट भर्ना भइरहेका छन्। भित्रको अप्रेशनहरू भइरहेको छ,’ अध्यक्ष डा. कार्कीले भने, ‘यो त सांकेतिक हो, बिरामीलाई दुःख दिन खोजेकै हैन नि!’

कोरोना भाइरस संक्रमणको समयमा पनि ओपिडि नचलेको उदाहरण दिँदै उनले गम्भीर बिरामीलाई असर नपर्ने बताए।

भीभीआईपी सवारीाको क्रममा अस्पताल र विद्यालयजस्ता संवेदनशील क्षेत्रलाई रुट बनाउन नहुने उनको मत छ। आम नागरिकले दुःख नपाउने गरी सवारी व्यवस्थित गर्नुपर्नेमा उनको जोड छ।

२८ माघ, २०७९, २२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।