मुख्‍यमन्त्री शाहद्वारा शपथग्रहण, विश्वासकाे मत नपाए पदमुक्त हुने

मुख्‍यमन्त्री शाहद्वारा शपथग्रहण, विश्वासकाे मत नपाए पदमुक्त हुने

काठमाडौं : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

बिहीबार संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्री शाहलाई प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार दिउँसो भएको कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशीले शपथग्रहण गराएका हुन्।

शाहसँगै कांग्रेसबाट मन्त्री बनेका प्रकाश देउवालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने एकीकृत समाजवादीबाट मन्त्री बनेका नरेशकुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो।

उनीहरूले पनि आजै शपथग्रहण गरेका छन्।

२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए।

उनले राजीनामा बुझाए लगत्तै शाह मुख्यमन्त्री नियुक्त भएका हुन्। शाहले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। उनले विश्वासको मत लिन नसके संविधानको धारा १६८ को उपधारा (५) बमाेजिम अर्को सरकार गठनका लागि बाटो खुल्नेछ।

उपधारा ५ मा प्रदेश प्रमुखसमक्ष प्रदेशसभाका कुनै पनि सदस्यले प्रदेशसभाकाे विश्वास भएको आधार प्रस्तुत गरेमा मुख्यमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ। यद्यपि उनले पनि ३० दिनभित्र विश्वासको मत भने लिनुपर्ने हुन्छ।

उनले पनि विश्वासको मत लिन नसके प्रदेशसभा भङ्ग गर्दै प्रदेशसभाको नयाँ निर्वाचनकाे मिति घोषणा गर्नुपर्नेछ।

२७ माघ, २०७९, १५:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।