शैक्षिक भ्रमणमा गएका कमर्स क्याम्पसका छात्राहरूलाई ‘हटी पाइ’ भन्दै उप-प्राध्यापकले गरे यौन दुर्व्यवहार, ३६ विद्यार्थीको उजुरी

शैक्षिक भ्रमणमा गएका कमर्स क्याम्पसका छात्राहरूलाई ‘हटी पाइ’ भन्दै उप-प्राध्यापकले गरे यौन दुर्व्यवहार, ३६ विद्यार्थीको उजुरी

काठमाडौं : नेपाल कर्मश क्याम्पस मीनभवनको एक उप-प्राध्यापकले शैक्षिक भ्रमणमा गएका छात्राहरूलाई यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेको छ।

क्याम्पसका ब्याचलर्स अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) छैटौं सेमेष्टरका विद्यार्थीलाई कोर्षमै रहेको शैक्षिक भ्रमणमा चितवन लगेको समयमा यौन दुर्व्यवहार गरेको भन्दै महेन्द्र अर्यालविरुद्ध क्याम्पसमै उजुरी परेको हो।

माघ १३ गतेको शैक्षिक भ्रमणमा ३७ जना विद्यार्थी, दुई जना शिक्षक, दुईजना अपरेटर र बस स्टाफ २ जना गरि ४३ जना सहभागी थिए। अर्यालमाथि मदिरा पिएर छात्रालाई जबरजस्ती संवेदनशील अङ्गतिर हेर्दै‘हटी पाइ’ भन्दै दुर्व्यवहार गरेको र जबरजस्ती चुरोट खुवाउन खोजेको लगायतको आरोप लागेको छ।

उजुरीअनुसार १२ बजे दिउँसो चितवन पार्क कटेज सौराहामा थारू समुदायको सांस्कृतिक कार्यक्रम हेरेर ८ बजे होटल पुगेर खाना खाएका उनीहरूले ९:३० बजेदेखि नाचगान सुरू गरेका थिए।

छात्रछात्राले नाचगान गरिरहेको बेला बीबीएमका निर्देशकसमेत रहेका अयार्लले मदिरा पिएर छात्रालाई अश्लिल शब्दको बोलेको दाबी छ।

छात्राहरूले क्याम्पस प्रमुख ध्रुव सिलुवाललाई बुझाएको उजुरीमा अर्यालले छात्रालाई आफूसँग मात्रै रुम जान भनेको, अंगालो हाल्दा संवेदनशील अंगमा हात पुर्याएको उल्लेख छ।

कोर्षमै रहेको छोटो भ्रमणका लागि ज्ञान आजर्न गर्न निर्देशक अयार्लको नेतृत्वमा गएका छात्रछात्रालाई निर्देशन दिनुपर्ने अर्यालले आफैँले अश्लिल हर्कत गरेपछि विद्यार्थीहरूले  प्रतिकार गरेका थिए।

सौराहमा के-के गरे अर्यालले?
विद्यार्थीले बुझाएको २३ बुँदे निवेदनमा ३६ जना विद्यार्थीले हस्ताक्षर गरेका छन्। उनीहरूले बुझाएको निवेदनमा छात्राहरूको नजिक आइ रक्सी र चुरोट पिइ एक छात्रालाई चुरोट पिउन प्रस्ताव गरेका थिए।

अर्यालले छात्रहरूलाई हटाएर छात्राहरूलाई मात्र नाच्न निर्देशन दिए। एक छात्रालाई मात्र बारमा नाच्ने महिला जसरी नाच्न निर्देशन दिएको, छेउमा रहेको छात्रालाई तेरो रूम नम्बर कति हो भनेर सोधेको, छात्राहरूको गोप्य अङ्ग हेरी क्या दामी देखिएको छ भनेको र छात्रालाई ‘हटी पाइ’ समेत भनेको उल्लेख गरेका छन्।

त्यस्तै यति मात्रै होइन उनीहरूले दिएको निवेदनमा अश्लिल तरिकाले विद्यार्थीको अघि नाचेको, छात्राहरू छात्रसँग बोले यो केटीको जात यस्तै रैछ भनेर कराएको उल्लेख गरेका छन्।

यतिकैमा रोकिएनन् अर्याल, उनले छात्राहरूलाई ‘हिड्न १० मिनेट घुमेर आम म पनि छात्राहरूको रुमको स्वाद लिन्छु’ भनेको उल्लेख छ। छात्राहरू नाचिरहेको बेला छात्रहरू पनि सँगै नाचिरहेका थिए।

उनले छात्रहरूलाई हटाएर छात्राहरूलाई टाइट हग गरेको, नाचिरहेको बखत खुट्टा उचाली अश्लिल हर्कत गरेको, ‘तु चिज बडि हे मस्त-मस्त’भनेर हेरेको उजुरीमा उल्लेख छ।

दुई छात्राहरूको पछि लागेर उनी छात्राहरूको कोठामा जान पछि-पछि लागेको, सबै छात्राहरू एउटै कोठामा बसिरहेको अवस्थामा तिमीहरू एकै ठाउँमा भेला भएर के गर्न खोजेको भनि धम्काएको उल्लेख छ।

छात्राहरूले ‘१२ बजेको समयमा छात्राहरूका कोठामा मदिरापान गरेर किन आउनुभएको?’ भनि विद्यार्थीले साेध्दा तिमीहरू को हौ? भनि थर्काएको उल्लेख गरेका छन्।

छात्राहरूलाई अचाक्ली र्दुव्यवहार गरेपछि छात्राहरूले सँगै गएका अर्का शिक्षक तुलसीराम बास्तोलाले अर्याललाई सम्झाउन खोज्दा अर्यालले उल्टै बास्तोलालाई थर्काएका थिए।

छात्राहरूले छात्रहरूलाई बोलाउँदा तिमी केटाहरूलाई यि केटीहरुले किन बोलाए भनि थर्काएको उजुरीमा लेखेका छन्। अर्यालले छात्रहरूलाई ‘तिमीहरूले केटीहरूलाई अंगालो हाल्न हुने मैले नहुने भन्दै तिमी केटाहरू बाहिर जाओ म केटीहरूसँग मात्रै कुरा गर्छु’ भनि अर्यालले धम्काए।

उनले एक छात्रालाई ‘तिमी ह्यारेसमेन्टको स्पीच दिँदै हिड्ने अनि आफैँ केटाहरूसँग टाँसिएर बस्ने भनि’दुर्वचनसमेत बोले। त्यो रात तनावमा बितेको विद्यार्थीले बताएका छन्। त्यस्तै अर्यालले अन्य महिलाहरूको बारेमा पनि अश्लिल शब्द बोलेको उनीहरूकाे निवेदनमा उल्लेख छ।

‘हामी सिकाइका लागि शैक्षिक भ्रमणका लागि गयौँ तर निर्देशकबाटै हामीलाई दुर्व्यवहार भयाे,’ एक विद्यार्थीले भनिन्, ‘त्यो रात यति तनावमा बित्यो की कुरै नगर्नुस् हामीले क्याम्पसमा निवेदन पनि दिएका छौँ।’

नेपाल कमर्श क्याम्पसका क्याम्पस प्रमुख ध्रुव सिलुवालले विद्यार्थीहरूले निवेदन दिएपछि अर्याल सरलाई बीबीएमको निर्देशकबाट हटाएको बताए।

उनले भने, ‘थप कारबाहीका लागि त्रिभुवन विश्वविद्यालयमा सिफारिस पनि पठाएका छौँ।’

सिलुवालका अनुसार विद्यार्थीले सामुहिक निवेदन दिएको र क्याम्पस प्रशासनले उपप्राध्यापक अर्याललाई क्याम्पस हाताभित्रै प्रवेश गर्न नदिने निर्णय गरेको बताए।

‘नियमवली अनुसार हामीले उहाँलाई बरखास्त गर्न मिल्दैन। हामीले गर्न मिल्ने जति कारबाही निर्देशकबाट हटाउने, क्याम्पस हाताभित्र आउन नदिने र उहाँलाई थप के कारबाही गर्ने हो त्रिविमा सिफारिस गरेका छौँ,’ उनले भने, ‘अब त्रिविले के कारबाही गर्छ हेरौँ।’

यसबारे अर्यालसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन।

२४ माघ, २०७९, २१:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।