आज बुटवलमा उपमहानगरपालिकाहरूको राष्ट्रिय सम्मेलन हुँदै

आज बुटवलमा उपमहानगरपालिकाहरूको राष्ट्रिय सम्मेलन हुँदै

बुटवल: बुटवलमा आज उपमहानगरपालिकाहरूको राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ। बुटवल उपमहानगरपालिकाको आयोजनामा देशभरका उपमहानगरपालिकाहरूका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थितिमा राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बताए।

प्रमुख पाण्डेयले समान समस्या, समान मुद्दा र समान संरचना भएका पालिकाहरूका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरूपता ल्याउने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताए।

माघ २१ गते शनिबार आन्तरिक छलफल, २२ गते बिहान ८ बजे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन समारोह र दिउँसो बुटवल उपमहानगरपालिकाको सभाहलमा साझा समस्याबारे छलफल र घोषणापत्र जारी गर्ने कार्यक्रम तय भएको उनले बताए।

सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गर्ने कार्यक्रम तय भएको उनले बताए।

उपमहानगरपालिकाहरूका साझा समस्या, संविधानअनुसार साझा र एकल अधिकारको प्रयोगका चुनौती, असल अभ्यासबारे अनुभव आदानप्रदान, सङ्घ र प्रदेश सरकारसँग स्थानीय सरकारका रूपमा अपेक्षा र स्थानीय आवश्यकता जस्ता विषयमा छलफलसहित निष्कर्ष निकाल्ने र समाधानका लागि सम्बन्धित निकायसँग सामूहिक रूपमा छलफलमा जाने उनले बताए।

उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करिब पाँच सय सहभागी हुने सम्मेलनले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने उनले बताए। 

उपमहानगरहरूका बीचमा आपसी समन्वय र सहकार्यको उद्देश्यका साथ सम्मेलन हुने र स्थानीय सरकारहरू साझा मुद्दा लिएर एकसाथ अघि बढ्न ऊर्जा मिल्ने बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्।

राष्ट्रिय सम्मेलनको उद्घाटनको लागि सबै तयारी पूरा भएको र प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरू बुटवल आइपुगेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।

२२ माघ, २०७९, ०७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।