रक्सीको मादमा पैदलयात्री किचेर मार्ने पृथ्वी मल्लको मुद्दाको पेशी २४ गते

रक्सीको मादमा पैदलयात्री किचेर मार्ने पृथ्वी मल्लको मुद्दाको पेशी २४ गते

काठमाडौं: मदिराको नशामा सवारी चलाएर पैदलयात्री लीला देवकोटालाई किचेर मार्ने पृथ्वी मल्लको मुद्दा उच्च अदालत पाटनले हिजो हेर्न नमिल्नेमा राख्यो। इजालस नम्बर १४ मा न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सुर्दशनराज पाण्डेको इजालसले मुद्दा हेर्न नमिल्नेमा राखेको हो।

उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्रप्रसाद कट्टेलका अनुसार अर्को पेशी यही माघ २४ गतेलाई तोकिएको छ।

यसअघि मल्ललाई काठमाडौं जिल्ला अदालतले २०७८ चैत ७ गते जम्मा ६ महिना कैद र एक हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भने उनीविरुद्ध १० वर्ष सजायको माग गर्दै अभियोग पत्र दर्ता गरे पनि फैसला आउँदा ६ महिना मात्रै कैद तोकियो।

न्यायाधीश सूर्यप्रसाद अधिकारीको एकल इजलासले उक्त फैसला सुनाएको थियो। फैसलामा चालकले लापरवाहीपूर्वक सवारी चलाएको मात्र पुष्टि भएको उल्लेख थियो।

त्यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले २०७६ पुस २३ मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

त्यसबेला, उच्च अदालत पाटनमा पुनरावेदन परे पनि जिल्लाकै आदेश सदर भएको थियो। पछि सर्वोच्च अदालतमा पुनरावेदन पुगेपछि भने न्यायाधीशद्वय सपना प्रधान मल्ल र मनोजकुमार शर्माको संयुक्त इजलासले उनी दम र डिप्रेसनको रोगी देखिएको भन्दै धरौटीमा मुक्त गर्न आदेश दिएको थियो।

उच्च अदालत पाटनमा पृथ्वी मल्लको पनि पुनरावेदन
अभियोग बमोजिम फैसला नआएपछि सरकारी वकिल कार्यलयले २०७९ साउन १७ गते पुनरावेदनका लागि उच्च अदालत पाटनमा प्रस्ताव पठाएको थियो। पत्रमा अभियोग बमोजिम प्रतिवादी पृथ्वी मल्ललाई सजाय पाऊँ भनी उल्लेख छ।

सोही पत्र बमोजिम उच्च अदालत पाटनले असोज ७ गते पुनरावेदन पत्र दर्ता गरेको थियो।

सोही बमोजिम पहिलो पेशी माघ १७ लाई तोकिए पनि हेर्न नमिल्नेमा राखियो र आगामी पेशी २४ गते तोकियो।

उता पृथ्वी मल्लले पनि आफू निर्दोष रहेको भन्दै काठमाडौं जिल्ला अदालतले गत चैत ७ गते सुनाएको फैसला खारेज गरी पूर्ण सफाई पाउनुपर्ने माग गरी अर्को पुनरावेदन पत्र उच्च अदालत पाटनमा पेश गरेका छन्।

कात्तिक १७ गते मल्ले आफू निर्दोष रहेको दावी गर्दै पूर्ण सफाई पाउनु पर्ने तर्कसहित पुनरावेदन पत्र दर्ता गरेका हुन्।

यी पनि,

 

बयान फेरेकै आधारमा पाएका थिए कम सजाय
प्रहरीसमक्ष २०७६ पुस २ गते मल्लले बयान दिँदा आफू २१ वर्षको भएको र अमेरिकाको फ्लोरिडामा बस्दै आएको बताएका थिए।

उनले अमेरिकामा बीबीए म्यानेजमेन्टमा अध्ययनरत रहेको बताएका थिए। त्यो दिनको घटनाको विवरण बताउँदै उनले बयानमा रक्सी पिएर सवारी चलाएको पनि स्वीकारेका थिए।

बयानको अंश:
म एक वर्षदेखि अध्ययनको लागि अमेरिका गएकोमा मिति २०७६–८–२३ मा बिदामा आफ्नो घर आएकोमा २०७६–८–२७ गते बेलुका १७:३० बजेको समयमा म आफ्नो घरबाट मेरो आफ्नै बा१४च ६१२३ नम्बरको सुजुकी कम्पनीको निजी कार चलाएर नक्साल नारायणचौरमा रहेको जिम हलमा गएँ।

त्यहाँबाट अन्दाजी १९:३० बजेको समयमा छाउनी बस्ने करिश मास्के भन्ने साथीले फोन गरेकोले साथीलाई लिएर बलुवाटारस्थित रहेको पलिन्ज गार्डेन भन्ने रेष्टुराँमा दुवै जना गई खाना खाएर २१:०० बजेको समयमा ठमेलमा गएको हो।

राति साढे १ बजे एलओडीमा पुगेको हो। करिश र उसका दुई जना साथी लिएर पसलबाट खाने कुरा लिई ग्रीन भ्याली रिसोर्ट पुगी केही बेर बसी फर्केको हो। 

पुल कट्न लाग्दा रातभरिको निद्राले झ्याप्पै छोप्यो। म निदाएँ। अनियन्त्रित भई लीला देवकोटालाई ठक्कर दिई सडक किनारमा रहेको बिजुलीको पोलमा गाडी ठोक्कियो।

कारबाट झरेर हेर्दा देवकोटा गम्भीर घाइते हुनुभएको थियो। मान्छेहरू भेला भएको देखेपछि केटी साथीहरूलाई बाहिर निकालेर घर पठायौँ। 

तत्काल प्रहरी टोली आएर घाइतेलाई उपचारका लागि अस्पताल पठाएँ। म त्यहीँ पक्राउ परेँ। पछि घाइतेको मृत्यु भएको सुनेँ।

साथीहरूसँग भएकाले मादक पदार्थ सेवन गरी कार चलाएको थिएँ। मैले 'ज्याक ड्यानिअल्स' नामक रक्सी खाएको थिएँ। नशाको सुरमा भएकाले के कति खाएको थिएँ, याद भएन।

मैले चलाएको कार दुर्घटना भई पुनः आफ्नै साइडतिर गई कारबाट धुवाँ समेत निस्किएर आफैँ बन्द भएको थियो। कार चलाउने क्रममा पैदल हिँडिरहेको पैदलयात्रीलाई मैले देखेको थिइनँ। सवारी दुर्घटना हुँदा मात्र देखेको हो।

मैले चलाएको बा१४च ६१२३ नम्बरको कारले पैदलयात्री देवकोटालाई ठक्कर दिएको सीसी क्यामेराले कैद गरेको फुटेज हेरेँ। सवारी दुर्घटना त्यसरी नै भएको हो। 

कार गियर २ मा राखी २५ किमि प्रतिघण्टाको स्पिडमा चलाएको थिएँ। यातायात व्यवस्था विभाग ललितपुर, एकान्तकुना कार्यालय बागमतीबाट क र ख वर्गको सवारी साधन चलाउन पाउने अनुमति लिएको थिएँ। 

त्यति बेला नै मैले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएकोले ट्राफिक प्रहरीले चिट दिएकोले सो चिट समेत हराएकोले हाल मसँग सवारी चालक अनुमतिपत्र छैन।

अदालतमा भने बयान पूरै फेरे
प्रहरीमा रक्सी पिएर सवारी चलाएको स्वीकार गरेका उनले काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजालसमा भने बयान पूरै फेरका थिए।

उनले बयानमा प्रहरीको करबलमा बयान दिएको र रक्सी पिएर सवारी नचलाएको दावी गरेका थिए।

उक्त बयानको अंश यस्तो छ:
दुर्घटना हुँदा करिश मास्के र उहाँका दुई जना महिला साथी हुनुहुन्थ्यो। दुर्घटनापश्चात् गाडीबाट धुवाँ आएको मलाई थाहा छ। गाडीमा अन्य के–कसो भयो मलाई थाहा भएन। 

दुर्घटना हुन लाग्दा अचानक स्टेरिङ जाम भएको र ब्रेक समेत नलागेको हो। मृतकलाई मेरो गाडीले ठक्कर दिएको ठीक हो।

मैले रक्सी सेवन नगरेको हुँदा स्वास्थ्य परीक्षण झुटो हो। प्रहरीले अस्पताल  लगेको सही हो। अस्पतालमा ब्लड टेस्ट गर्ने, अल्कोहल टेस्ट गर्ने कुनै कार्य भएन। 

अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान मैले दिएको होइन। उक्त कागजको सही–छाप भने मेरो हो। 

करिश मास्केसँग ८ बजेको समयमा भेट भई शिवपुरीतर्फ लागेका हौँ। कागजमा भनिए जस्तो अघिल्लो दिन भेट भएर रक्सी खाएको होइन। 

घाइतेको उद्धार गर्न लाग्दा प्रहरीले पक्राउ गरेको हो। रिसोर्टका सुरक्षा गार्ड अर्जुन पाण्डेले के कागज थमाइ दिनुभयो थाहा भएन। 

सो दिन अर्जुन पाण्डेले के–कसरी रक्सी खाएको थियो भन्नु भयो थाहा भएन। मेरो गाडी सानो कार हो। ४० मिटर परसम्म उछिट्टिन सक्दैन। 

इन्जिन अफ गरेर आफ्नो साइडतिर गाडी काटेर रोकी निस्केर घाइतेतर्फ गएको हुँ। उहाँले के–कसरी रक्सी खाएको भनी लेखाउनु भयो, थाहा भएन। 

घाइते महिलालाई म र करिश मिली गाडी रोकी अस्पताल लग्न खोज्दा प्रहरी आएर हामीलाई समातेको हो। मैले मादक पदार्थ सेवन गर्दिनँ र यो समयमा रेड बुल दुई वटा सेवन गरेको थिएँ। अन्य कागज गर्ने सन्तोषी लामा, शंकरप्रसाद पनेरू, मलाउद्दिन मियाँले के–के कागज गरिदिनु भएको हो मलाई थाहा भएन। 

२०७६–८–२८ गते सात बजे उठेको हुँ। तत्‌पश्चात् मेरो साथी करिश मास्केले साढे सात-आठ बजेतिर फोन गरे। 

अमेरिकाबाट आई चलाएको हुँदा नम्बर याद भएन। म घरबाट गाडी लिएर निस्केपछि करिश मास्के र उहाँको दुई जना साथी लिएर बिगमार्टबाट चकलेट, चिप्स, रेडबुल किनी लगेको हुँ।

ग्रीन भ्याली रिसोर्ट लाग्यौँ। बाटो लामो थियो। पानी परिरहेको थियो। रिसोर्टमा गाडी पार्क गरेर हामी रेष्टुराँतिर लाग्यौँ। 

साथीहरूले चिया–कफी अर्डर गरे। मैले रेडबुल खाएँ। खाना कुर्दाकुर्दा अबेर भयो। मैले स्वेटर मात्र लगाएको हुँदा जाडो भयो। खाना लिएर तल बालुवाटारतिर बसौँ भनी रेष्टुराँ बाहिर निस्क्यौँ।

मैले मेरो दाइ असीम राणा र भाउजू तथा उहाँहरूका दुई वटा छोरालाई भेटेँ। उहाँहरूले एकैछिन बस भन्नु भयो।

साथीहरू छन् भनी म हिँडे। मैले ड्राइभ गरेको थिएँ। बूढानीलकण्ठ स्कुलको ओरालो लागिरहेको बेला गाडीको स्टेरिङ लक भयो र ब्रेक लागेन।

गाडी मेरो कन्ट्रोलमा थिएन। गाडी रोकिनासाथ मैले इन्जिन अफ गरी बाहिर निस्केँ। धुवाँ चाहिँ आइरहेको थियो। केही न केही लागेको हुनुपर्छ भनी यताउती हेरेँ। 

फुटपाथमा एक महिला लडिरहनु भएको थियो। बाइकलाई पनि मेरो गाडीले ठक्कर दिएको रहेछ, थाहा भएन। 

मेरो साथी करिश र मैले उहाँलाई रेस्क्यु गर्न भनी लाग्यौँ। मैले उहाँको हात हल्लाएर बोलाएको थिएँ। मैले बोलाउँदा अन्‌कन्सियस हुनुहुन्थ्यो, बोल्नु भएन। 

त्यसपछि म र मेरो साथीले बाटोमा आइरहेको गाडी रोक्न खोज्यौँ। कुनै गाडीले रोकेन। एउटा ट्रक आयो। ट्रकमा त्यहीँका मान्छेहरूले हाले। गाडीका अन्य दुई जना साथीहरू कता जानु भयो मलाई थाहा भएन।

प्रहरीले तत्‌पश्चात् नारायणथान लगेर थुन्यो। मेडिकल चेक गर्ने भनी चिरायु अस्पतालमा लग्यो। हातमा सुई राखेर ब्लड टेस्ट पनि भएन। पेपरमा केही लेखेर हामीलाई पुनः महाराजगञ्ज प्रहरीमा ल्याइयो।

मेरो गाडीको उँचाइ एकदमै सानो छ। त्यहाँबाट फुटपाथमा हिँडिरहेको मानिसलाई ठक्कर दिन सम्भव छैन। त्यहाँको फुटपाथ पनि अग्लो थियो। मेरो गाडीले हानेको भए पनि लाग्दैनथ्यो। 

उहाँलाई विपरीत दिशामा गई हानेको हुनुपर्छ। यो पूर्णतया मेकानिकल इरर हो।

सतर्कता अपनाएर नै मैले गाडी चलाएको हुँ। गल्फुटारदेखि शिवपुरीसम्म सुरक्षित साथ गाडी चलाएकै हुँ। यो केबल यान्त्रिक गडबडीले भएको दुर्घटना हो। 

सीसीटीभी फुटेजहरू ठीक हुन्। मैले नेपालमा गाडी चलाउँदैनथेँ। मसँग नेपाली ड्राइभिङ लाइसेन्स पनि छैन। मसँग कारको अन्तर्राष्ट्रिय लाइसेन्स छ।

फैसलामा प्रमाणभन्दा बयानलाई आधार मानियो
त्यसपछि फैसला गर्दा काठमाडौं जिल्ला अदालतले प्राप्त प्रमाणलाई भन्दा पनि प्रतिवादी पृथ्वी मल्लको बयानलाई आधार मानेको प्रष्टै हुन्थ्यो। फैसलाको अन्त्यमा भनिएको छ:

‘...बाहिर हेर्दा रक्सी खाए जस्तो देखिएको भनी बकपत्र गरेको देखिन्छ। यी प्रतिवादीले चलाएको गाडीको गतितर्फ विचार गर्दा अधिकार प्राप्त अधिकारीसमक्ष यी प्रतिवादीको बयानमा गाडीको गति २०/३० प्रतिघण्टाको गतिमा रहेको भनी बयान गरेको र अदालतमा बयान गर्दा आफूले चलाएको गाडी १५/२० को गतिमा रहेको भनी खुलाएको देखिन्छ।

यी प्रतिवादीले उक्त दुर्घटना हुँदा आफ्नो गाडीको स्टेरिङ लक भएको र ब्रेक जाम भएको सोही कारणबाट गाडी अर्को लेनतर्फ गएको हो गाडी दुर्घटना पश्चात् मात्र पुनः स्टेरिङ अन भई स्टार्ट समेत अन हुन गएको अवस्था भएकोले यान्त्रिक गडबडीका कारण प्रस्तुत दुर्घटना भएको भनी बयानमा खुलाएको देखिन्छ। 

प्रस्तुत मुद्दामा दुर्घटना हुँदाका बखत सोही गाडीमा सवार रहेका करिश मास्केले गरेको बकपत्र हेर्दा गाडीको आवाज बदलिएको, गियर बदल्न खोज्दा अचानक आवाज आएको स्टेरिङ लक भएको, स्टार्ट समेत बन्द भएको गाडी रोक्न खोज्दा गाडी नरोकिएको, ब्रेक नलागेकोले सडक पेटीमा गाडी ठोकिन पुगेको हो। 

गाडी ठोकिएपछि पुनः स्टार्ट गर्दा गाडी स्टार्ट भएको हो। घाइतेलाई उपचारतर्फ हामीले लगेको हो। यी प्रतिवादीले जानी जानी लापरवाही गरी दुर्घटना गराएको होइन।

मैले मादक पदार्थ सेवन गरेको होइन। स्टार्ट बन्द भई स्टेरिङ फेल भएको कारणले दुर्घटना भएको हो भन्ने समेतको व्यहोराको यी प्रत्यक्षदर्शी रूपमा रहेका सो गाडीमा सवार रहेका करिश मास्केको बकपत्र रहेको प्रतिवादीको गाडी चालक अनुमतिपत्र हेर्दा अन्तर्राष्ट्रिय गाडी चालक अनुमतिपत्र रहेको देखिँदा यी प्रतिवादीले गरेको कसूर सवारी तथा यातायात ऐन, २०४९ को दफा १६१ (२) बमोजिमको कसूर नै हो भनि भन्न सकिने मिसिल संलग्न कागजातबाट देखिन आएन। 

यी प्रतिवादीले गरेको उक्त कसूर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (३) बमोजिमको कसूर रहेको देखिन आएकोले निज प्रतिवादीलाई सोही ऐनको दफा १६१(३) बमोजिम ६ (छ) महिना कैद सजाय र १,०००– (एक हजार रुपैयाँ) जरिवाना समेत हुने ठहर्छ।’

फैसलाको चौतर्फी आलोचना भएपछि न्यायाधीश सूर्यप्रसाद अधिकारीले मिडियामा अन्तर्वार्ता समेत दिएका थिए।

माघ १८, २०७९ बुधबार १९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।