कांग्रेस संस्थापनइतर भेलामा आगामी सभापति उम्मेदवारको बहस : उपसभापतिले शेखरको नाम लिँदा अधिकांश नेता मौन

कांग्रेस संस्थापनइतर भेलामा आगामी सभापति उम्मेदवारको बहस : उपसभापतिले शेखरको नाम लिँदा अधिकांश नेता मौन

काठमाडौं : पार्टीको संस्थापन पक्षविरुद्ध प्रभावकारी मोर्चा कस्न बसेको नेपाली कांग्रेस संस्थापन इतर शेखर कोइराला समूहको बैठकमै आगामी नेतृत्वबारे फरक मत सुनिएको छ।

पार्टीको संसदीय दलको नेताको उम्मेदवार गगन थापालाई आफ्नो समूहमा रहेका सांसदहरुजति पनि मत नआएपछि समूहमा शङ्का बढाएको थियो। समूहको बैठकले सो शङ्का निवारण नभई थप झाँगिँदै गएको देखायो।

बैठकमा सहभागीहरू शेखर र गगन समूहमा विभाजित देखिए। बैठकमा समूहलाई थप बलियो बनाउन अहिले नै पार्टीको १५ औँ महाधिवेशनको सभापतिको उम्मेदवार तय गर्नुपर्नेमा शेखर पक्षका केही नेताहरूले दबाब बढाए। गगन थापा पक्ष मौन रह्यो।

बैठकमा सहभागी एक कांग्रेस नेताका अनुसार पार्टीका उपसभापति धनराज गुरुङले १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार शेखर कोइराला हुन् भनेर अगाडि बढ्नुपर्ने प्रस्ताव राखेका थिए। उनी यस अगाडि आफ्नो समूहबाट संसदीय दलको नेतामा गगन थापाको उम्मेदवारीको विपक्षमा उभिएका थिए।

उनले शेखर काङ्ग्रेसभित्र रूपान्तरण र पुस्तान्तरणको पक्षमा रहेको नेता भएकाले अहिले नै सभापतिको उम्मेदवार घोषणा गर्नुपर्ने मत राखे। उनको मतमा कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले समर्थन गरे। तर अधिकांश नेताहरू मौन बसिदिए।

प्रचण्डलाई विश्वासको मत दिनु गलत

बैठकमा पाँच दलीय गठबन्धन तोडेर एमालेसँग मिल्दै सरकार गठन गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर गल्ती गरेको भन्दै पार्टी नेतृत्वको आलोचना भएको थियो।

पार्टी विपक्षमा नगए पनि तटस्थ बस्न सक्ने अवस्था रहेको तर बहुमतको आधारमा पेलेर पक्षमा मतदान गर्न ह्विप जारी गरेर गलत काम गरेको अधिकांश नेताको धारणा थियो।

बैठकमा कार्य सम्पादन समितिमा रहेका शेखर कोइरालाले आफ्नो गल्ती स्वीकार गर्दै आफ्नो सुझावको वास्तै नगरी निर्णय भएको दाबी गरेका थिए। पार्टीको निर्णयमा शेखरले ‌औपचारिक रूपमा असहमति भने जनाएका थिएनन्। 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले मात्रै विश्वासको मत दिने निर्णयको विपक्षमा लिखित असहमति जनाएका थिए।

राष्ट्रपति पदको लोभ व्यर्थ

बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे समेत छलफल भएको थियो। कांग्रेस राष्ट्रपतिको लोभमा परेको भन्दै समूहको छलफलमा सके एमालेकै उम्मेदवार त्यो सम्भव नभए तटस्थ व्यक्ति राष्ट्रपति हुनसक्ने तर कांग्रेसले नपाउने निष्कर्ष निकालेका थिए।

नेता चन्द्र भण्डारीले फिनी हराएको थाहा नपाई छैन, गहुँको गेडा गन्छस् भने झैँ पार्टीका नेताहरू अझै पनि राष्ट्रपति पाउँछु भन्दै हिँडेको भन्दै आलोचना गरेका थिए।

८ माघ, २०७९, १८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।