मसान (कविता)

मसान (कविता)

धामीको फुकाइले भएन
झाँक्रीको ढ्याङ्ग्रोले भ्याएन
वैद्यको ओखतीले चलेन
तान्त्रिकको तन्त्रले छोएन
अभावले अन्धविश्वासलाई जन्मायो
की अन्धविश्वासले अभावलाई
ईश्वर नै जानुन्
उसलाई पैसाले टेरेन
विनापैसा उसलाई डाक्टरले हेरेन।

उसले यही समाजमा देखेको थियो
चन्दा उठाएर मन्दिर बनाएको
पुराण लगाएर समाधि पुजेको
वास्तवमा धर्म भनेकै समाधि पुज्नु हो
किनकि यज्ञ पनि सतीदेवीको समाधि स्थल बनेको थियो
जहाँ सतीको शरीर र दक्षको शिर होमिएको थियो।

ए रमिते भीडहरू
कुन समाधि पुज्छौ? 
आज एक बालकको कुपोषणले ग्रसित शरीरमा
अब अस्थिपन्जर बाहेक केही छैन
त्यसैले आऊ सबैजना पुजौं 
उपचारको अभावमा छटपटिरहेको शरीरलाई
उ पूजनीय बनेको छ 
किनकी उ मसान हो 
ज्यूँदो मसान
खेलिएको मसान
खेलाइएको मसान
त्यसैले उ पूजनीय बनेको छ।

६ माघ, २०७९, १६:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।