तेस्रो विवाहको तयारीमा भुवन केसी, भने 'चाँडै गुड न्युज आउन सक्छ'

तेस्रो विवाहको तयारीमा भुवन केसी, भने 'चाँडै गुड न्युज आउन सक्छ'

काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका कलाकार भुवन केसीले पहिलो पटक जिया केसीसँगको सम्बन्ध स्वीकार गर्दै तेस्रो विवाहको सङ्केत गरेका छन्।

अमेरिका भ्रमणमा रहेका उनले जियाको नाम भने लिएनन्। समाजटाइम्ससँगको कुराकानीमा उनले जियासँगको सम्बन्ध खुलाउँदै भने' एक जना माया गर्ने साथी हुनुहुन्छ। हामी सँगै बस्छौ। अब त्यो सम्बन्धलाई औपचारिकता दिने सोचमा छु।'

विवाहको मामिलामा आफू भाग्यमानी हुन नसकेको भन्दै उनले जियालाई तेस्रो श्रीमती बनाउने तयारीबारे खुलाउँदै भने' व्यक्तिलाई कसै न कसैको साथ चाहिन्छ। अब हाम्रो सम्बन्ध सार्वजनिक गर्ने सोचमा छु। हेरौँ केही दिनमा गुड न्युज आउन पनि सक्छ।'

भुवन र जिया लिभिङ टुगेदरको सम्बन्धमा रहेको लुकेको विषय हैन। औपचारिक कार्यक्रममा समेत उनीहरू सँगै देखिने गरे पनि सम्बन्धबारे भने दुवैले औपचारिक रूपमा बोलेका छैनन्।

केसीले जियाको नाम नलिई एकै घरमा बस्दै आएको समेत स्विकारे।

अनमोल, विवेक र काजलका बाबु रहेका भुवनको पहिलो विवाह २० वर्षको उमेरमा भएको थियो। विवेक र काजल पहिलो श्रीमतीतर्फका सन्तान हुन्। उनीहरू अमेरिकामा बस्छन्।

पहिलो विवाह टुटेपछि उनले सुस्मितासँग विवाह गरे। अनमोल सुस्मितातर्फको सन्तान हुन्। सुस्मितासँगको सम्बन्ध पनि लामो समय गएन। डिभोर्स भयो।

सुस्मितासँगको डिभोर्सपछि भुवनको नाम धेरै जनासँग जोडियो। जियाले एक अन्तर्वार्तामा भुवन केसीसँग विवाह गर्न तयार छु भनेपछि दुवैको सम्बन्धबारे सार्वजनिक चर्चा सुरु भएको थियो। दुवै प्रेम सम्बन्धमा रहेको शङ्का गरियो। पछि जिया भुवनकै घरमा बसिन्। भुवन ६० वर्ष कटिसकेका छन्। 

कात्तिक ९, २०७९ बुधबार ००:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।