झापाको बेलडाँडीमा खुल्यो सर्पदंश उपचार केन्द्र

झापाको बेलडाँडीमा खुल्यो सर्पदंश उपचार केन्द्र

झापा: बेलडाँडी गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ। सर्पले डसेका बिरामीको उपचारका लागि बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो।

सर्पदंश लागेका बिरामीको उपचार गर्नका लागि दक्ष स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था गरिएको गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले बताए। “सर्पदंश, बिच्छीलगायतका विषालु कीराले काट्दा उपचारका लागि बाह्य क्षेत्रमा जानुपर्ने बाध्यता थियो”, उनले भने, “समयमै उपचार नपाउँदा ज्यान जाने समस्या थियो, त्यस कुरालाई मध्यनजर गर्दै केन्द्र सञ्चालनमा ल्याएका छौँ।” 

उनले उपचार केन्द्रमा पुग्ने बासिन्दालाई सहजरूपमा कसरी सेवा पुर्याउन सकिन्छ भन्नेबारे सुधार गर्दै लैजाने बताए।

आइतबार गाउँपालिका प्रमुख हरिशचन्द्र राना र उपाध्यक्ष शान्ति नाथले केन्द्रको संयुक्तरूपमा शुभारम्भ गरेका थिए। केन्द्र सञ्चालनमा आएपछि बेलडाँडीसँगै बेलौरी नगरपालिका र लालझाडी गाँउपालिकाका क्षेत्रका बासिन्दा लाभान्वित हुने भएका छन्।

७ कात्तिक, २०७९, ०७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।