दशैंमा जमरा लाउने मात्र होइन, जुस बनाएर पिउने पनि गरौँ, रोग भगाउँछ क्या!

दशैंमा जमरा लाउने मात्र होइन, जुस बनाएर पिउने पनि गरौँ, रोग भगाउँछ क्या!

दशैंमा मीठामीठा परिकार खानपानका साथै टीका र जमरा लगाउने धार्मिक, सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक परम्परा छ। विशेषतः जमराको महत्त्व मानव स्वास्थ्यका दृष्टिले समेत लाभदायक छ।

दशैंमा टीका र जमरा लगाउँदा व्यक्ति जति सुन्दर देखिन्छ त्योभन्दा धेरै जमराको सेवनले व्यक्तिको स्वास्थ्यमा लाभ मिल्छ। 

जमराको जुसमा भिटामीन ‘ए’, ‘बी’, ‘सी’, ‘ई’, ‘थाईमिन’, ‘फलाम’, ‘पोलीफिनोल’, ‘क्लोरोफिल’ तथा ‘खनिज’ प्रशस्त मात्रामा पाइन्छ।

‘यवो‌ऽसि धान्य राजोऽसि’ अर्थात ‘जौ’ लाई अन्नको राजा मानिन्छ।

स्वास्थ्यका दृष्टिकोणले जमरा निकै लाभदायक छ। जमरा पिसेर जुस तथा सुकाएर पिसेर पाउडरका रूपमा तयारी गरी पानीमा खोलेर सेवन गर्न सकिन्छ। आयुर्वेदिक चिकित्सकीय विधिमा आयुर्वेदिक उपचारका लागि जमरा लोकप्रिय छ।

जमरा सेवन गर्नाले कलेजोको विषाक्तता हटाउन मद्दत मिल्छ। यसले कलेजो सफा गर्छ। त्यसैगरी पेटका आन्द्रा सफा गर्न जमराको जुस सेवन लाभदायक छ। 

जमराको जुसले पाचन शक्तिसमेत मजबुत बनाउँछ। जसले गर्दा खानपान रुचि हुने तथा पचाउन मद्दत मिल्छ।

जमराको जुस शरीरमा रगतको मात्रा बढाउन र रगत शुद्ध गर्न उपयोगी हुन्छ। जमराको जुसले रगतमा अक्सिजन पुर्याउन मद्दत गर्छ। रक्त कोषिका (रेड ब्लड सेल) बढाउन सहयोग मिल्छ र शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ। यसको सेवनले नयाँ कोषिका उत्पादन गर्न मद्दत मिल्छ। 

जमराको जुसको सेवनले रगतमा भएको सुगरको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ।

अझ कपाललाई समेत स्वस्थ राख्न मद्दत गर्छ जमराले। क्यान्सर हुनै नदिनका लागि समेत यसले सहयोगी भूमिका खेल्छ। 

जमरामा पाइने इन्जाइम्सले क्यान्सरबाट बचाउन मद्दत मिल्छ भने क्यान्सर भएका बिरामीका लागि समेत यो लाभदायक हुन्छ।

आयुर्वेदिक चिकित्सा विधिमा आँखालाई तेज बनाइरहन जमराको प्रयोग लाभदायक मानिन्छ। जमराको प्रयोगले अनुहारको कालो पोतो, दाग हटाइ अनुहारमा चमक ल्याउन सहयोगी भूमिका खेल्छ। 

जमरामा पाइने तत्त्वका कारण मुटु तथा मुटुको धमनीको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

शारीरिक मात्रै होइन, जमराले मानसिक स्वास्थ्यमा पनि लाभ हुन्छ। जमराको जुस सेवन गरेको खण्डमा तनाव कम गर्न सहयोग मिल्छ। जमराको प्रयोगले युरिक एसिड र उच्च रक्तचाप जस्ता समस्या कम गर्न सहयोगी हुन्छ।

यसमा पाइने क्लोरोफिलले हाडजोर्नीको दुखाइ कम गर्न मद्दत मिल्छ। त्यसो त व्यक्तिले दैनिक खाने खानाबाट शरीरमा अपुग भएको मिनरल तथा भिटामिनको समेत परिपूर्तिका लागि जमरा लाभदायक हुन्छ। 

त्यति मात्रै होइन यसमा पाइने तत्त्वका कारण व्यक्तिको तौल सन्तुलन राख्न समेत मद्दत मिल्छ। 

जमराको सेवनले धुलो धुवाँको समस्याका कारण नाक बन्द हुने तथा टाउको दुख्ने जस्ता समस्या कम हुन मद्दत मिल्छ।

स्वास्थ्य अवस्था सामान्य भएको व्यक्तिले दैनिक दुई पटकसम्म जमराको जुस खाली पेटमा सेवन गर्नु उचित हुन्छ। सामान्यतया दैनिक २० देखि ३० मिलिलिटर जमराको जुस सेवन गर्नु उपयुक्त हुन्छ।

तर, विभिन्न रोगको समस्या भएका व्यक्तिले भने चिकित्सकको परामर्शबिना जमराको जुस सेवन गर्नु हुँदैन। अन्य व्यक्तिले समेत चिकित्सकको परामर्शमा नै जमराको जुस सेवन गर्नुपर्छ। 

विशेषगरी व्यापारिक दृष्टिकोणले बजारमा पाइने जमराको पाउडर, जुस भने जथाभावी सेवन गर्नु हुँदैन। यसको गुणस्तरीयताको ख्याल गर्नुपर्ने हुन्छ।

(आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका आयुर्वेदिक चिकित्सक डा. ज्ञवालीसँग उकेराकर्मी उपेन्द्र खड्काले गरेको कुराकानीमा आधारित।)

१९ असोज, २०७९, ११:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।