बुटवलका मेयर खेलराजको खेल : बाहिर सडक अलपत्र पार्ने ठेकेदारको आलोचना गर्ने, भित्र-भित्रै सघाउने

बुटवलका मेयर खेलराजको खेल :  बाहिर सडक अलपत्र पार्ने ठेकेदारको आलोचना गर्ने, भित्र-भित्रै सघाउने

बुटवल : निर्वाचित भएको बुटवलको सडकमा देखिए बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे। तर  अहिले सडक निर्माणको काम अलपत्र छ।

सङ्घ सरकारबाट निर्माण भइरहेको बुटवलको चौराहदेखि गोलपार्कसम्मको सडक जेठ पहिलो साता ठेकेदारले बाटो लेवलिङ गर्न काम सुरु गर्दा नगरप्रमुख आफैँ सडकमा उभिएर अनुगमन गरेका थिए।

त्यस बेला पाण्डे निर्वाचित भएकै कारण बाटो बन्न सुरु गरेको चर्चा चलेको थियो। तर अहिले बाटोको काम रोकिएको छ।

साढे तीन किलोमिटर सडक निर्माणमा ६ वर्षभन्दा बढी समय खर्च हुँदा पनि बन्न सकेको छैन। पछिल्लो पटक थप भएको समय असार मसान्त भएकाले ठेकेदारले जेठ पहिलो साता म्याद थप गर्ने योजना अनुसार काम सुरु गरेका थिए।

त्यही बेला नगरप्रमुख पाण्डे बुटवलको बाटो आफैले बनाए जसरी प्रचारमा लागे। ६ वर्ष सम्म सडक नबनाउने ठेकेदारलाई असार मसान्त पछि अब म्याद थप गर्नु हुँदैन र ठेक्का तोड्नु पर्छ भनेर उनी बोल्न सकेनन्।

अहिले भने उनी सडक निर्माण कम्पनी र ताकेता नगर्ने डिभिजन सडक कार्यालय बुटवलसँगै सडक विस्तार आयोजनाको भूमिकाप्रति असन्तुष्टि जनाउन थालेका छन्।

सडक निर्माणको काममा ढिलासुस्ती भएको भन्दै उनै नगरप्रमुख पाण्डेले निर्वाचित भएको ४ दिन पछि प्रमुख जिल्ला अधिकारी, डिभिजन सडक कार्यालय, विस्तार आयोजना, निर्माण कम्पनी, उद्योगी व्यवसायी र सरोकारवालासहितलाई राखेर असारभित्र काम पूरा गर्न निर्देशन दिएका थिए।

त्यो बेला पनि अधिकार क्षेत्र बाहिर गएर ठेकेदारलाई अनुरोध गर्नुपर्नेमा निर्देशन दिएको भन्दै उनको आलोचना समेत भएको थियो।

फागुन महिनामै स्थानीय तहको निर्वाचन अघि अस्पताललाईनको ६ सय मिटर मेन क्याजवेय कालोपत्रे गर्ने सहमति सडक विभागमा गरेर आएको ठेकेदारले त्यही बेला चुनावी रणनीति अनुसार कांग्रेसले ठेकेदारलाई काम नगर्न दबाब दिएको थियो।

निर्वाचनको समयमा बुटवलको सडकलाई मुख्य चुनावी एजेन्डा बनाएको कांग्रेसले चुनाव अघि सडकको काम सुरु भए त्यसको लाभ एमालेलाई जाने भन्दै काम नगर्न ठेकेदारलाई दबाब दिएको थियो।

निर्वाचनको समयमा सत्तारूढ नेताहरूको चुनावी स्वार्थलाई साथ दिएको निर्माण कम्पनीले अहिले पुरानै प्रतिबद्धता पुरा गराउन सत्तारुढ दलसँग लागि परेको छ।

निर्वाचन अघिसम्म काम नगराउन ठेकेदारलाई उनै पाण्डेले दबाब दिएका थिए। उनी अहिले निर्माण कम्पनीले ढिलासुस्ती गरेको भन्दै बाहिर आलोचना गरे पनि उनी भित्रभित्रै म्याद थपको लबिङमा लागेको दाबीहरू आइरहेका छन्।

सडक विस्तारका क्रममा सडक क्षेत्राधिकार मिचेर बनाइएका घरहरू भत्काउन तिनै पाण्डेको नेतृत्वमा अवरोध गरिएको थियो।

निर्माण कम्पनी द कञ्जनजंगा बिरुवा जेभी कांग्रेस निकट निर्माण व्यवसायी हुन्।  बिरुवाका सुमित श्रेष्ठ कांग्रेसका प्रभावशाली नेतासँग राम्रो पहुँच बनाएका व्यवसायीका रूपमा परिचित छन्। उनी स्वयं कांग्रेसको बाग्मती प्रदेशको राजनीतिमा क्रियाशील छन्।

अहिले अस्पताललाईनको पूर्वतर्फको एक लेयर कालोपत्रेको काम गरेपछि ठेकेदारले काम रोकेका छन्। बुटवल क्षेत्रको मुख्य सडक अस्तव्यस्त छ। खाडल पुर्ने भन्दै मिस्कट राखेपछि सडकमा थप खाडल बनेको छ। सडकमा ठुला खाडल बन्दा साना सवारी सबैभन्दा बढी मारमा परेका छन्।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेले ठेकेदारको आलोचना गर्दै सडकलाई दुर्दशा बनाएर छाडेको दाबी गर्छन्। आफू निर्वाचित भएपछि काम गर्न ठेकेदारलाई सरोकारवालासँग राखेर दबाब दिएको भए पनि अहिले फेरि काम रोकिदा बुटवल अस्तव्यस्त बनेको उनको भनाई छ। उनले ठेक्का लगाउने, नियमन गर्ने, सडक विस्तार गर्ने आयोजनाले पनि कम चासो राखेको दाबी गरे।

 ‘हामीले दबाब दिएकै हो। तर उसले काम नै गरेन। अब ठेकेदारले काम नगरेपछि के गर्ने। ठेकेदारले बुटवललाई दुर्दशा बनाएर छाड्यो,’ उनले भने।

हाल सडक निर्माणको काम जम्मा ३० प्रतिशत मात्रै भएको छ। सार्वजनिक खरिद ऐनको बाह्रौँ संशोधन भएपछि सोही व्यवस्थाअनुसार ठेकेदारलाई अझै एक वर्ष म्याद थप्न जन सहज भएको छ।

आयोजनाका कार्यालय प्रमुख दीपक झाले निर्माण कम्पनीको नियत ठिक नभएकाले अहिले अस्तव्यस्त भएको बताए। असार ३२ मा म्याद सकिएपछि निर्माण कम्पनीले अब म्याद थप गर्न आग्रह गर्दै निवेदन दिने र त्यसको एक- डेढ महिनामै म्याद थपको टुङ्गो लाग्ने झाले बताए।

‘चुनाव लगत्तै काम सुरु भएपछि अब त सडक बन्छ भन्ने थियो। तर फेरि अलपत्र बन्यो। यो धुलाले व्यवसाय सञ्चालन नै गर्न कठिनाइ भइसक्यो,’ अस्पताललाईनका व्यवसायी अर्जुन खनालले भने।

रुपन्देही व्यापार सङ्घका अध्यक्ष कृष्ण घिमिरेले सडककै कारण कतिपय व्यवसायीहरूले व्यापार स्थानान्तरण गर्नु परेको भन्दै सडक छिटो निर्माण गर्न दबाब सिर्जना गर्नुपर्ने बताए।

२०७३ चैत १७ गते ठेक्का सम्झौता भई ०७६ असोज १२ गतेसम्म काम सक्नुपर्ने भए पनि पटक–पटक म्याद थपेर ०७९ असार ३० गतेसम्म निर्माण सक्नुपर्ने सम्झौता भएको थियो।

चार लेनको सडकलाई ६ लेनको बनाउन ०७३ देखि निर्माण थालिएको भए पनि बुटवलका घरधनी अदालतमा क्षतिपूर्तिको माग गर्दै पुग्दा ढिला भएको थियो।

सर्वोच्च अदालतले २०७७ पुस २० गते काम–कारबाही अगाडि बढाउन आदेश जारी गरेपछि विस्तारको काम गर्ने बाटो खुलेको थियो। तर निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा कामले गति लिन सकिरहेको छैन।

साढे तीन किलोमिटर सडक विस्तारको कामका लागि सुरुमा ४७ करोड २७ लाख रुपैयाँमा सम्झौता भएको थियो। निर्धारित समयमा निर्माण पूरा नभएपछि लागत बढेर ५३ करोड ९८ लाख रुपैयाँ कायम गर्ने सम्झौता भएको थियो।  

३ साउन, २०७९, १९:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।