प्रहरीले काठमाडौँमा दोहोर्‍यायो रौतहटको काण्ड : प्रहरीकै सहयोगमा कतै लागु औषध राखेर फसाउने त कतै कस्तुरीको बिना

प्रहरीले काठमाडौँमा दोहोर्‍यायो रौतहटको काण्ड : प्रहरीकै सहयोगमा कतै लागु औषध राखेर फसाउने त कतै कस्तुरीको बिना

काठमाडौँ : जग्गा कारोबारको विवादमा कुटेको भन्दै बदला लिन एक व्यक्तिले मोटरसाइकलमा नक्कली कस्तुरीको बिना राखेर प्रहरीको उपयोग गरेर पक्राउ गराएको प्रहरीकै अनुसन्धानले पुष्टि गरेको छ।

प्रहरी वृत्त गौशालाको प्रहरीले कस्तुरीको बिनाको कारोबारमा संलग्न रहेको आरोपमा शिव लिम्बुलाई पक्राउ गरेको थियो। प्रहरीले उनलाई चाबहिलको एक खाजा घर अगाडि मोटरसाइकलमा बिना जस्तो पदार्थसहित पक्राउ गरेर थप अनुसन्धान र कारबाहीका लागि जिल्ला बन कार्यालय काठमाडौँमा बुझाएको थियो।

लिम्बुको परिवारले आदम राई र कृष्ण श्रेष्ठ मिलेर फसाएको दाबी गरेपछि सो विषयमा समाचार बाहिरिएको थियो। खाजा घर नजिकैको क्लोज सर्किट टेलिभिजन हेर्दा लिम्बुको मोटरसाइकलमा श्रेष्ठले केही वस्तु राखिदिएको खुलेपछि उपत्यका प्रहरी कार्यालयले घटनाको छानबिन गर्न समिति गठन गर्यो। सो समितिले सुवास राईले लिम्बुसँग बदला लिन श्रेष्ठलाई प्रयोग गरेर मोटरसाइकलमा कस्तुरीको बिना राखेर प्रहरीलाई सूचना दिएको पुष्टि गरेको छ।

प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको छ तर मुख्य योजनाकार देखिएका राईभने फरार छन्।

छानबिन समितिका अनुसार राई र लिम्बुबिच जग्गा सम्बन्धी कारोबार हुँदै आएको थियो। २०७९ वैशाखमा राईले मादक पदार्थ खाएर लिम्बुको मोबाइलमा फोन गरेर गाली गर्दै तेरो घरमा आएर सिद्ध्याइदिन्छु भनेपछि त्यसको चार दिनपछि लिम्बु कपनको स्नुकर हाउसमा आएर राईलाई कुटेका थिए।

कुटाई खाएपछि राईले लिम्बुलाई फसाउने योजना बनाएका थिए। उनले कृष्ण श्रेष्ठसँग बाघको छा या कस्तुरीको बिना राखेर लिम्बुलाई फसाउने योजना बनाए। सोही योजना अनुसार असार २३ गते चाबहिलमा रहेको खाजा घरमा लिम्बु गएको मौका पारेर लिम्बुको मोटरसाइकलको सिट मुनी श्रेष्ठले विना राखिदिएर प्रहरीलाई खबर गरेका थिए।

खबर पाएको प्रहरी टोली घटनास्थलमा गएर लिम्बुलाई पक्राउ गरी वन्यजन्तुको कारोबारको आरोपमा कारबाहीका लागि बन कार्यालयमा पठायो।

यता लिम्बुको परिवारले प्रहरीको मिलेमतोमा फसाएको भन्दै अनुसन्धानको माग गर्यो। घटना बाहिरिएपछि प्रहरीले छानबिन समिति गठन पनि गर्यो र समितिले लिम्बुको परिवारले गरेको दाबी पुष्टि भयो।

श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ। तर राईभने फरार छन्। उता कस्तुरीको विनाको कारोबार गरेको आरोप लागेका लिम्बु भन डिभिजन बन कार्यालय हात्तीसारको हिरासतमा छन्। उनीबाट बरामद भएको विनाको परीक्षण गर्दा नक्कली भएको पुष्टि भइसकेको छ।

यो घटनामा कुनै न कुनै रूपमा प्रहरीको पनि बदनियत देखिन्छ नै। कसैले सूचना दिएकै आधारमा व्यक्ति पक्राउ गर्ने र पक्राउ व्यक्तिले आफू संलग्न नभएको र अर्को व्यक्तिले फसाउने काम गरेको भन्दाभन्दै थप अनुसन्धान नगरी सिधै बन कार्यालय पठाउने काम गरेको देखिन्छ।

प्रहरीसम्म सूचना कसरी पुग्यो र उनीहरूले स्थानीय क्लोज सर्किट टेलिभिजन समेत हेर्ने प्रयास किन गरेनन् भन्ने शङ्काको घेरामा रहेका गतिविधि हुन्।

तर छानबिन समितिले भने सूचना प्राप्त भएपछि कानुनसम्मत रूपमा प्रहरी कारबाही गर्नुपर्ने दायित्व अन्तर्गत प्रहरी कारबाही भएको र सो घटनामा प्रहरीको कुनै बदनियत नदेखिएको भन्दै गौशालाको प्रहरी प्रमुखसहित घटनामा संलग्न प्रहरीलाई उन्मुक्ति दिएको छ।

'छानबिनमा पक्राउ परेका व्यक्तिले गरेको दाबी अनुसारै उनलाई फसाउन अर्को व्यक्तिले कस्तुरीको बिना जस्तो देखिने बस्तु राखिदिएर प्रहरीलाई खबर गरेको देखियो,' उपत्यका प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरले भने' एक जना नियन्त्रणमा आएका छन्। अर्को व्यक्ति फरार भएकाले खोजी गरिरहेका छौँ। अन्य प्रक्रिया अगाडि बढिरहेको छ।'

उनले छानबिनमा प्रहरीले सामान्य रूपमा आफूलाई आएको सूचना अनुसार परिचालन मात्र भएको देखिएको दाबी समेत गरे।

दोहोरिएको रौतहट काण्ड

२०७८ साउनमा रौतहटमा ठ्याक्कै यस्तै घटना भएको थियो। प्रहरीले पत्रकार मोजिबुल्लाह र शेख अतिउल्लाहलाई मोटरसाइकलमा लागु औषध सहित पक्राउ गरेको थियो। साउन ३२ मा प्रहरीले गौरबाट मोजिबुल्लाहको मोटरसाइकलबाट नाइट्रोभेटसहित उनलाई पक्राउ गरेको थियो।

उनीहरूले आफूलाई फसाउने षड्यन्त्र भएको दाबी गरेका थिए। तर प्रहरीले कारबाही प्रक्रिया अगाडि बढायो। पछि घटनास्थलको क्लोज सर्किट टेलिभिजनमा उनी खाना खान गएको बेलामा अर्कै व्यक्तिले उनको मोटरसाइकलमा केही राखेको देखियो। ती सामान राखिदिनेहरू धिरज यादव र जितेशकुमार यादव रहेको खुल्यो पनि।

त्यो बेलामा जिल्ला प्रहरी कार्यालयका असई उदयप्रसाद यादव र जवान मनोजसान कानु घटनास्थल नजिकै थिए। योसँगै केही दिनमा एक अडियो सार्वजनिक भयो जिल्ला प्रमुख एसपी सिद्धिविक्रम शाह र जिल्लाका अर्का एक पत्रकार सञ्जय सहनीको। जसमा यी दुबैबिच आफ्ना विरुद्धमा समाचार लेखेको भन्दै पत्रकारलाई फसाउनेबारे कुराकानी भएको थियो।

तर पछि २ प्रहरीमाथि आपराधिक षड्यन्त्र गरेको अभियोगमा कारबाही अगाडि बढ्यो। अडियो संवादले नक्कली घटनाबारे एसपी शाह जानकार देखिएका थिए। तर उनलाई कारबाहीबाट उन्मुक्ति दिएर हालै भएको बढुवामा उनलाई एसएसपी बनाउँदै पुरस्कृत गरियो।

२ साउन, २०७९, १६:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।