लुम्बिनी प्रदेशको बजेटमा पर्यटन, उद्योग र रोजगारीलाई प्राथमिकता दिइने
बुटवल : लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यवहारिक हुने दाबी गरेका छन्।
लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत आइतबार बसेको प्रदेशसभा बैठकमा 'विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता' माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले प्रदेशको आवधिक योजना र प्रदेशसभा सदस्यहरूको सुझावका आधारमा बजेट निर्माण गरिने स्पष्ट पारे।
उनले पर्यटन, उद्योग र रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने बताउँदै पूँजी तथा प्रविधिको विस्तारमा विशेष जोड दिइने बताए। कृषि क्षेत्रको आधुनिकीकरण, प्राङ्गारिक उत्पादन प्रवर्धन तथा उत्पादनमा विविधीकरणमार्फत रोजगारी र आयआर्जन सिर्जना गर्ने नीति सरकारले लिएको उनको भनाइ थियो।
मन्त्री कार्कीले बजेटलाई प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने विषय सबैको साझा सरोकार भएको उल्लेख गर्दै कार्यान्वयनमा नवीनता ल्याइने बताए।
बैठकमा प्रदेशसभाको विशेष समयमा बोलेका सदस्यहरुले समसामयिक विषयमा धारणा राखेका थिए। विशेष समयमा प्रदेश सभा सदस्य बैजनाथ कलवार, दिल कुमारी बुढा, तारा थापा, रेवती गुरुङ, चन्द्रकेश गुप्ता, मिना बुढा मगर, शान्ति लोध, मिना कुमारी श्रेष्ठ, मधुसुदनशरण चौधरी/कुर्मी, सुरुल पुन तथा बसन्ती न्यौपानेले विभिन्न विषयमा धारणा राखेका थिए।
छलफल सम्पन्न भएपछि सभामुख तुलाराम घर्तीमगरले ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथिको छलफल समाप्त भएको घोषणा गरे।
प्रदेशसभाको अर्को बैठक जेठ ११ गते सोमबार दिउँसो १ बजे बस्नेछ।
जेठ १०, २०८३ आइतबार १६:४९:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।