अत्यधिक गर्मी र लुका कारण भारतमा १६ जनाको मृत्यु
एजेन्सी : दक्षिणी भारतमा गर्मी मौसममा चलेको अत्यधिक तापलहर (लु) का कारण १६ जनाको मृत्यु भएको छ।
देशका विभिन्न भागमा तापक्रम ४५ डिग्री सेल्सियस नाघेर जनजीवन अस्तव्यस्त बनेपछि अधिकारीहरूले देशव्यापी रूपमा स्वास्थ्य सतर्कता (हेल्थ अलर्ट) जारी गरेका छन्।
वैज्ञानिक अध्ययनहरूका अनुसार भारतमा गर्मी सामान्य भए पनि जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा तापलहर पहिलेभन्दा लामो, बढी आवृत्तियुक्त र तीव्र हुँदै गएको छ।
यस वर्षको गर्मीमा दक्षिणी राज्य तेलङ्गानामा सबैभन्दा बढी मानवीय क्षति भएको छ। तेलङ्गानाका राजस्वमन्त्री पोङ्गुलेटी श्रीनिवास रेड्डीले गर्मीको तीव्रता अत्यधिक बढेकाले राज्यव्यापी सतर्कता अपनाउन आह्वान गरेका छन्।
स्थानीय प्रशासनले वृद्ध, बालबालिका र गर्भवती महिलालाई अत्यावश्यक काम नभएसम्म दिउँसोको समयमा घरबाहिर ननिस्कन आग्रह गरेको छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार अत्यधिक गर्मीले शरीरमा पानीको कमी (डिहाइड्रेसन) गराउन सक्छ, जसले रगत बाक्लो बनाउने र गम्भीर अवस्थामा अङ्गहरू काम गर्न छोड्ने जोखिम बढाउने गर्छ।
यस पटक दिउँसो मात्र नभई रातको तापक्रम पनि उच्च रहँदा मानिसहरूले पर्याप्त आराम पाउन सकेका छैनन्, जसका कारण स्वास्थ्य जोखिम अझ थपिएको छ।
यसैबीच, भारतीय मौसम विभागले देशका धेरै भागमा सामान्यभन्दा बढी तापक्रम र तीव्र लु जारी रहने बताएको छ।
राजधानी नयाँदिल्ली र आसपासका क्षेत्रमा यस हप्ता लगातार तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। अत्यधिक गर्मीका कारण विद्युतको माग समेत बढेको छ। विद्युतको मागले अहिलेसम्मकै रेकर्ड तोडेको छ।
विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारत हरितगृह ग्यास उत्सर्जन गर्ने देशमध्ये तेस्रो स्थानमा पर्छ र विद्युत् उत्पादनका लागि कोइला उपयोगमा उच्च निर्भरता राख्छ।
भारतले सन् २०७० सम्ममा शुद्ध–शून्य उत्सर्जन हासिल गर्ने प्रतिबद्धता जनाएको छ। यो प्रतिबद्धता धेरै औद्योगिक पश्चिमी देशहरूको लक्ष्यभन्दा करिब दुई दशक पछिको हो।
यसअघि सन् २०१६ मा राजस्थानको फलोदीमा ५१ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो। यसलाई भारतमा हालसम्मको सबैभन्दा उच्च आधिकारिक तापक्रम मानिन्छ।
जेठ १०, २०८३ आइतबार १५:१५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।