सडकको भुक्तानी दिँदा घुस मागेका प्रमुख प्रशासकीय अधिकृत यादव अख्तियारको नियन्त्रणमा

सडकको भुक्तानी दिँदा घुस मागेका प्रमुख प्रशासकीय अधिकृत यादव अख्तियारको नियन्त्रणमा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई ७२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। 

सडक ढलान योजनाको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

यादवले सडक ढलान कार्य सम्पन्न भएपछि भुक्तानी दिने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगले कारबाही अघि बढाएको थियो। आयोगका अनुसार यादवलाई महोत्तरीको गौशाला नगरपालिका-५ निगौलस्थित सम्सी-गौशाला सडक खण्डबाट जेठ ८ गते नियन्त्रणमा लिइएको थियो। 

आयोगको टोलीले यादवको साथबाट ७२ हजार रुपैयाँ घुस रकमका अतिरिक्त स्रोत नखुलेको ८३ हजार रुपैयाँ समेत बरामद गरेको छ। 

उनी सवार सरकारी नम्बर प्लेटको सवारी साधनबाट एक थान ल्यापटप, दुई थान मोबाइल र अन्य सरकारी कागजातहरू समेत नियन्त्रणमा लिइएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए। प्रमुख प्रशासकीय अधिकृत यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।  

जेठ १०, २०८३ आइतबार १२:५४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।