‘नयाँ’ हुने नाममा संसदीय परम्परा नभत्काऔं : सांसद सिंह

‘नयाँ’ हुने नाममा संसदीय परम्परा नभत्काऔं : सांसद सिंह

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले बजेटको सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) माथिको छलफलमा अर्थमन्त्री अनुपस्थित भएको भन्दै आपत्ति जनाएका छन्।

मंगलबारको संसद् बैठकमा बोल्दै उनले ‘नयाँ’ र ‘परम्परा तोड्ने’ नाममा स्थापित संसदीय प्रणालीको अस्तित्व नै संकटमा पार्न खोजिएको आरोप लगाए।

बजेटको छलफल चलिरहँदा अर्थमन्त्री संसद्मा अनिवार्य उपस्थित हुनुपर्ने परम्परा रहेको स्मरण गराउँदै उहाँले अर्थमन्त्रीको सट्टा परराष्ट्रमन्त्री बसेको प्रति असन्तुष्टि व्यक्त गरे।

‘बजेटको सिद्धान्त र प्राथमिकता हुँदा अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम छ। परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन’, सिंहले भने।

बजेटको छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाल अगाडि बसिरहेका थिए। सोहीतर्फ केन्द्रीत गर्दै उनले यस्तो भनाइ राखेका हुन्।

आफ्नो २० वर्षको संसदीय इतिहासमा अर्थमन्त्रीबिना प्रि-बजेट छलफल भएको पहिलो पटक देखेको उनको दाबी छ।

‘पाँचौं पटकको सांसदले सबै परम्परा भत्काउँदै गयो भने संसद् र संसदीय प्रणालीको अस्तित्व नै समाप्त हुन्छ। हाम्रो देश र संविधानले संसदीय प्रणालीलाई अंगीकार गरेको छ, नयाँको नाममा सबै कुरा भत्काउने होइन’, उनले थपे।

लामो समय मौन बसे पनि अति भएपछि बोल्न बाध्य भएको उल्लेख गर्दै उहाँले सरकारलाई संसदीय गरिमा र परम्पराको ख्याल गर्न सचेत गराए। सिंहले भने, ‘मैले नबोल्न खोजेकै थिएँ, तर अति भएपछि बोल्न बाध्य भएँ।’

सांसद सिंहले संसद्मा स्थापित परम्पराहरू कुनै व्यक्ति विशेषको नभई लोकतान्त्रिक पद्धतिको खम्बा भएको भन्दै त्यसलाई मनलाग्दी ढङ्गले नकुल्चन सरकारको ध्यानाकर्षण गराए।

जेठ ५, २०८३ मंगलबार १४:१५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।