सरकार अधिनायकवादतर्फ उन्मुख हुँदा लोकतन्त्र संकटमा पर्यो : नेता ज्ञवाली

सरकार अधिनायकवादतर्फ उन्मुख हुँदा लोकतन्त्र संकटमा पर्यो : नेता ज्ञवाली

काठमाडौं : एमाले नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार लोकतान्त्रिक मूल्य-मान्यता, संवैधानिक संस्थाको गरिमा र सामाजिक न्यायमाथि प्रहार गर्दै ‘निर्वाचित अधिनायकवाद’तर्फ उन्मुख भएको आरोप लगाएका छन्।

आइतबार काठमाडौंमा आयोजित ३३ औँ मदन आश्रित स्मृति दिवस तथा ‘जनताको बहुदलीय जनवाद र युवा’ विषयक विमर्श कार्यक्रममा बोल्दै उनले सरकार गठनको ५० दिन नपुग्दै भएका निर्णय र कार्यशैलीले लोकतन्त्र कमजोर बन्दै गएको संकेत देखिएको दाबी गरे।

उनले ‘दिन कस्तो हुन्छ भन्ने कुरा बिहानको बादलले देखाइसकेको हुन्छ,’ भन्दै सरकार लोकतान्त्रिक अभ्यासभन्दा नियन्त्रणमुखी शैलीतर्फ उन्मुख भएको आरोप लगाए।

ज्ञवालीले ट्रेड युनियन तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने प्रयास भइरहेको दाबी गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजिएको बताए। उनले श्रमिक, विद्यार्थी र निम्न वर्गका नागरिकका अधिकार क्रमशः संकुचित गरिँदै गएको उल्लेख गरे।

ज्ञवालीले संसद, राष्ट्रपति र न्यायालयजस्ता संवैधानिक तथा निर्वाचित संस्थाहरूको भूमिका कमजोर पार्ने प्रयास भइरहेको आरोपसमेत लगाए। 

उनले भने, ‘ट्रेड युनियन, स्ववियुहरु खारेज गर्ने प्रयत्न, अध्यादेशबाट शाषन गर्ने दुष्प्रयास, सुकुम्बासीमाथि डोजर आतंक, श्रमजीवी वर्गहरुलाई दिएका सामाजिक सुरक्षाका कुराहरुलाई क्रमश कटौती गर्दै जाने प्रयास र निर्वाचित संस्था, संसद, राष्ट्रपति न्यायालय जस्ताहरुको अवमूल्यनमार्फत एउटा निर्वाचित अधिनायकतिर मुलुक अगाडि बढ्न खोजेको छ।’

उनले वर्तमान परिस्थितिमा बलियो लोकतान्त्रिक प्रतिपक्षको आवश्यकता रहेको उल्लेख गर्दै संसदभित्र संख्यात्मक रूपमा कमजोर भएपनि जनताको साथ र विभिन्न सामाजिक तथा राजनीतिक संस्थाहरूको सहयोगबाट लोकतान्त्रिक मूल्यको रक्षा गर्न सकिने बताए ।

उनले लोकतन्त्र, संविधान र सामाजिक न्यायको रक्षाका लागि अहिलेको समय चुनौतीपूर्ण रहेको उल्लेख गरे। ‘यति दुःख गरेर लामो समयको संघर्षबाट प्राप्त गरेको लोकतन्त्रको उपलब्धीलाई गुम्न नदिन, संविधानको रक्षा गर्न र सामाजिक न्यायसहितको बाटो तर्जूमा गर्न समयले हामीलाई कठिन अग्निपरीक्षाको लागि उभ्याएको छ,’ उनले भने।

उनले मदन आश्रित स्मृति प्रतिष्ठानको भूमिका केवल सहयोगी र सहकार्यकारी भएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलनलाई समाजका विभिन्न तहबाट सशक्त बनाउनुपर्ने धारणा राखे।

उनले युवाहरूलाई लोकतन्त्र, सामाजिक न्याय र जनताको अधिकारको पक्षमा सक्रिय हुन आग्रह गर्दै वर्तमान चुनौतीको सामना गर्न राजनीतिक चेतना र संगठित प्रयास आवश्यक रहेको बताए।

जेठ ३, २०८३ आइतबार १६:०१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।