'युनिभर्सिटी अफ गुण्डाज' मा सलिनमानको जोडीका रूपमा जापानकी मीना अनुबन्धित

'युनिभर्सिटी अफ गुण्डाज' मा सलिनमानको जोडीका रूपमा जापानकी मीना अनुबन्धित

काठमाडौं : अभिनेता सलिनमान बनियाँको मुख्य भूमिका रहने फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज’का लागि जापानकी मीना यसोदा अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन्। 

सान्भी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा नेपाल र जापानको पारिवारिक पृष्ठभूमि भएकी मीनालाई निर्माण पक्षले मुख्य जोडीका रूपमा पक्का गरेको हो। हाल जापानमा बसोबास गर्दै आएकी मीनाका बुवा नेपाली र आमा जापानी हुन्।

सुरेश न्यौपानेले निर्देशन गर्ने यो फिल्मको कथा स्वयं अभिनेता सलिनमानले लेखेका हुन्। फिल्ममा सलिनमान र मीनाका साथै अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ।

फिल्मको प्राविधिक टोलीमा सौरभ लामा (छायाकार), मन्दिप गौतम (पटकथा), सम्राट बस्नेत (द्वन्द्व निर्देशन) र बन्दे प्रसाद (सम्पादन) रहेका छन्। 

यस्तै, रोमन बज्रचार्यको पार्श्व संगीत, मनोज श्रेष्ठको भिएफएक्स र राजेन्द्र मोक्तानको रङ संयोजन रहनेछ। निर्माण टिमले हालै फिल्मको 'फर्स्ट लुक' सार्वजनिक गरे पनि प्रदर्शन मिति र अन्य कलाकारहरूको विवरण भने अझै गोप्य राखेको छ।

जेठ ३, २०८३ आइतबार १२:५१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।