भत्किएको घर, छुटेका साथी र नयाँ स्कुल : महानगर प्रहरीको स्कर्टिङमा पढ्न जाने ४१ सुकुमबासी बालबालिकाको अवस्था

भत्किएको घर, छुटेका साथी र नयाँ स्कुल : महानगर प्रहरीको स्कर्टिङमा पढ्न जाने ४१ सुकुमबासी  बालबालिकाको अवस्था

‘संसारमा दुःख छ, दुःखका कारण छन्।’ गौतम बुद्धले आफ्नो पहिलो धर्मोपदेशमा व्याख्या गरेका प्रसिद्ध ‘चार आर्य सत्य’मध्ये पहिलो र दोस्रो सत्य हुन् यी।

अहिले काठमाडौं उपत्यका लगायत देशभरका भूमिहीन सुकुमबासीहरूका लागि ठ्याक्कै यही आर्य सत्य लागु भएको छ, जसको मुख्य कारण बनेको छ- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार। सरकारको कदमले सयौं बालबालिकाहरूलाई शिक्षाको नैसर्गिक अधिकारबाट समेत वञ्चित भएका छन्।

करिब दुई तिहाइ बहुमतसहितको शक्तिशाली सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री शाहले तीनवटै सुरक्षा निकाय परिचालन गरी सुकुमबासी बस्ती खाली गराउने बलजफ्ती अभियान थालेका हुन्।

गत वैशाख १२ गते शनिबार बिहान थापाथलीस्थित बागमती किनारको बस्तीमा डोजर चलाएर सुरू भएको यो अभियान शान्तिनगर, गैरीगाउँ, सिनामंगल हुँदै पहिलो चरणमै मध्यपुर थिमी-१ र जडीबुटी क्षेत्रको मनोहरा खोला किनारसम्म पुग्यो।

विभिन्न चरणमा गरी उपत्यकाका १९ वटा सुकुमबासी बस्तीमा सरकारको डोजर चल्यो। यस क्रममा ३ वटा सामुदायिक विद्यालयहरू समेत भत्काइए।

डोजरले सम्पूर्ण संरचना भत्काइएपछि थापाथली, गैरीगाउँ र सिनामंगलबाट विस्थापित ६६ परिवारका २०३ जनालाई अहिले कीर्तिपुरस्थित ‘राधा स्वामी सत्संग आश्रम’को होल्डिङ सेन्टरमा राखिएको छ।

सरकारले व्यवस्था गरेको यो अस्थायी बासस्थानमा ३१ बालिका र ३० बालकले समेत आश्रय लिइरहेका छन्। वर्षौंदेखि बस्दै आएको थातथलोमा डोजर चलेपछि सुकुमबासी बालबालिकाको पढाइ पूर्ण रूपमा ठप्प छ।

बल प्रयोग गरी होल्डिङ सेन्टरमा पुर्याइएका अभिभावकहरू अहिले बिलखबन्दमा छन्। ‘सरकारले कहिले स्थायी बसोबासको प्रबन्ध गरिदेला र छोराछोरीलाई फेरि स्कुल पठाउन पाइएला?’ भन्ने चिन्ताले उनीहरूको मथिंगल रन्थनिएको छ।

बुद्धका बाँकी दुई आर्य सत्य ‘दुःखलाई हटाउन सकिन्छ, दुःख हटाउने मार्ग छ’ भने झैँ विस्थापितहरू वर्तमान सरकार नै आफ्ना दुःख हटाउने मार्ग बन्छ कि बन्दैन भन्ने आशा र त्रासमा दिन काटिरहेका छन्।

उता बालबालिकाको कलिलो मनोविज्ञानमा घर गुमाउनुको भारी मात्र छैन, आफ्ना साथीसंगी, अभ्यस्त विद्यालय र पढाइबाट वञ्चित हुनुपर्दाको गहिरो पीडा पनि भरिएको छ।

चौतर्फी आलोचना र दबाबपछि विरोधका आवाज मत्थर पार्नका लागि सरकारले कीर्तिपुर आश्रममा रहेका विद्यालय जाने उमेरका बालबालिकालाई काठमाडौं महानगरपालिका वडा नं. १४ स्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गरेको छ।

काठमाडौं महानगरपालिकाको शिक्षा विभागको समन्वयमा होल्डिङ सेन्टरका ४१ जना बालबालिकालाई बालविकास (ईसीडी) देखि कक्षा ९ सम्म भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक अनिलकुमार झाले जानकारी दिए।

यी विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री र दिवा खाजाको व्यवस्था हाल विद्यालयकै आन्तरिक स्रोतबाट भइरहेको छ। तत्कालका लागि विद्यालय पोसाक पनि स्कुलले नै उपलब्ध गराउने भएको छ। यद्यपि, यी सबै प्रबन्धका लागि महानगरले बजेट दिने आश्वासन दिए पनि हालसम्म उपलब्ध गराएको छैन।

अस्थायी रूपमा भर्ना भएका यी बालबालिकालाई होल्डिङ सेन्टरबाट करिब एक किलोमिटर दूरीमा रहेको विद्यालयसम्म ल्याउने र पुर्याउने जिम्मा महानगर प्रहरीले पाएको छ। हरेक दिन बिहान महानगर प्रहरीकै निगरानीमा उनीहरू पैदलै विद्यालय पुग्छन् र छुट्टी भएपछि त्यसरी नै होल्डिङ सेन्टर फर्किन्छन्।

जेठ १, २०८३ शुक्रबार १४:२७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।