पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ, इतिहासमै पहिलोपटक पूर्वकार्यकारी प्रमुखमाथि फौजदारी अभियोग

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ, इतिहासमै पहिलोपटक पूर्वकार्यकारी प्रमुखमाथि फौजदारी अभियोग

काठमाडौं : गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा १९ जनाको ज्यान गएको घटनामा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ।

नेपालको इतिहासमा मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिसकेको व्यक्ति ज्यानमुद्दा (फौजदारी जाहेरी) को अनुसन्धानका सिलसिलामा पक्राउ परेको यो पहिलो घटना हो।

शनिबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको प्रहरी टोलीले पूर्वप्रधानमन्त्री ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र पूर्वगृहमन्त्री लेखकलाई भक्तपुरकै कटुन्जेस्थित निवासबाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ। ओलीलाई उनकै गाडीमा राखेर भद्रकाली पुर्याइएको थियो।

यसरी भयो पक्राउको तयारी
नवनियुक्त प्रधानमन्त्री बालेन शाहले शपथ लिएको केही घण्टाभित्रै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले जेनजी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई बुझाइएको उक्त प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतले लापरवाही गरेका कारण ज्यान मार्ने घटना भएको ठहर गर्दै उनीहरूमाथि फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो।

मन्त्रिपरिषद्को निर्णयलगत्तै गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखहरूसँग तारन्तार छलफल गरेका थिए। प्रहरीले सरकारसँग आधिकारिक रूपमा लिखित आदेश माग गरेपछि मध्यराति कानुन मन्त्रालयका सचिव पारश्वर ढुंगानालाई नक्सालस्थित प्रहरी हेडक्वार्टर झिकाइएको थियो। उनले लिखित आदेश तयार पारेपछि प्रहरी एक्सनमा उत्रिएको थियो।

जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा मात्रै फौजदारी अभियोगमा पक्राउ गर्न नमिल्ने भएकाले मृतक र घाइतेका परिवारले पेश गरेको जाहेरीलाई प्रहरीले पक्राउको मुख्य आधार बनाएको महान्यायाधिवक्ता कार्यालय स्रोतले जनाएको छ। अदालतबाट पूर्वअनुमति नलिई प्रहरीले ‘जरुरी पक्राउ पुर्जी’ थमाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

ओलीको प्रतिक्रिया-  ‘प्रतिशोधपूर्ण कदम’
आफूलाई पक्राउ गर्न प्रहरी टोली निवासमा पुगेपछि ओलीले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई लगायतका कानुन व्यवसायीहरूसँग परामर्श गरेका थिए। त्यसक्रममा उनले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका थिए।

‘यो पक्राउ प्रतिशोधपूर्ण छ । यसको कानुनी लडाइँ लड्छु, तपाईंहरू तयारी गर्नुहोस्’, ओलीले वकिलहरूलाई भनेका थिए।

गृहमन्त्री गुरुङ भन्छन्- ‘कानुनभन्दा माथि कोही छैन’
ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यो कदम कुनै प्रतिशोध नभई न्यायको सुरुवात भएको प्रष्ट्याएका छन्।

उनले लेखेका छन्, ‘ROMISE IS A PROMISE: कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।’

के छ कानुनी व्यवस्था ?
आयोगको प्रतिवेदन र प्रहरी अनुसन्धान अनुसार पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिता २०७४ को ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ कसुरमा अनुसन्धान हुनेछ।

संहिताको दफा १८१, १८२ (तथा २८१, २८२, २८३) आकर्षित हुने यस मुद्दामा हेलचेक्र्याइँपूर्वक कसैको ज्यान मार्ने काम गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ।

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको स्वास्थ्य परीक्षणपश्चात प्रहरीले हिरासतमा पठाउनेछ। अब उनीहरूलाई म्याद थपका लागि २४ घण्टाभित्र मुद्दा हेर्ने अदालत (जिल्ला अदालत काठमाडौं) मा उपस्थित गराइनेछ।

एमाले विरोध प्रदर्शनमा उत्रँदै
यसैबीच ओली पक्राउको विरोधमा एमाले प्रदर्शनमा उत्रिने भएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।

‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं,’ बस्नेतले लेखेका छन्, ‘कार्यक्रमबारे विस्तृत जानकारी केही समयमा दिइनेछ।’

पक्राउ गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको बस्नेतको भनाइ छ। बस्नेतले जेनजी आन्दोलनका क्रममा निरिह देखिएको नेपाल प्रहरीप्रति पनि टिप्पणी गरेका छन्।

‘यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ,’ सचिव बस्नेतले लेखेका छन्,’ उनले लेखेका छन्, ‘सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दु:ख लाग्छ।’

चैत १४, २०८२ शनिबार ०७:३०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।