‘हामी नेपाल’को साझेदार अलजजिराले छ महिनाअघि गरेको थियो भावी प्रधानमन्त्रीको रूपमा ब्रान्डिङ, तर बने गृहमन्त्री
काठमाडौं : गत भदौमा काठमाडौ|को सडकमा पानी बाँड्ने स्वयंसेवकका रूपमा देखिएका सुदन गुरुङ आज देशको गृहमन्त्री नियुक्त भए।
यो नियुक्तिसँगै, ६ महिनाअघि कतारी मिडिया नेटवर्क ‘अल जजिरा’ ले उनलाई नेपालको ‘भावी प्रधानमन्त्री’ का रूपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको विवादास्पद घटना पुनः एकपटक चर्चाको केन्द्रमा आएको छ।
२०८२ साल भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ ले ४८ घण्टामै तत्कालीन सरकार ढालेपछि, आन्दोलनको नेतृत्वमा नै नरहेका गुरुङलाई अल जजिराले ‘नेपालको सबैभन्दा प्रभावशाली व्यक्ति’ र ‘देशको भविष्य निर्माता’ को रूपमा चित्रण गरेको थियो।
उकेराले २०८२ असोज १३ गते नै यो अन्तर्राष्ट्रिय ब्रान्डिङ र गुरुङको शंकास्पद उदयबारे समाचार प्रकाशित गरेको थियो। आज फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेका उनै गुरुङले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
अल जजिराले गुरुङलाई प्रस्तुत गर्नु केवल एक सामान्य अन्तर्राष्ट्रिय मिडिया कभरेज थिएन। गुरुङ अध्यक्ष रहेको संस्था ‘हामी नेपाल’ को आधिकारिक वेबसाइटमा अल जजिरालाई ‘प्रमुख साझेदार’को रूपमा उल्लेख गरिएको थियो।
आफ्नै साझेदार संस्थाको प्रमुखलाई एउटा सार्वभौम देशको भावी कार्यकारी प्रमुखको रूपमा अन्तर्राष्ट्रिय मञ्चमा ‘ब्रान्डिङ’ गरेको थियो।
अल जजिराको चर्चित कार्यक्रम ‘स्टार्ट हियर’ मा दिएको अन्तर्वार्तामा गुरुङले आफूलाई परिस्थितिले राजनीतिमा धकेलेको दाबी गरेका थिए। आन्दोलनमा मारिएका युवाहरूको रगत लागेको भन्दै आफ्नो भेस्ट देखाउँदै उनले न्याय नपाएसम्म त्यो नधुने अभिव्यक्ति दिएका थिए।
जब पत्रकारले ‘के तपाईं चुनाव लड्दै हुनुहुन्छ?’ भनेर सोधे, उनले दृढतापूर्वक ‘हो’ भन्दै जवाफ दिएका थिए। ‘यो एउटा आन्दोलन हो। मैले लड्नैपर्छ। मसँग अरू विकल्प छैन। मैले मेरो देश बचाउनैपर्छ’, उनले भनेका थिए।
विवादास्पद पृष्ठभूमि: ‘फ्रि तिब्बत’ देखि अपारदर्शी ५४ करोडसम्म
उमेरले जेनजी पुस्तामा नपर्ने ३८ वर्षीय गुरुङले कसरी आन्दोलनको नेतृत्व आफ्नो हातमा लिए भन्ने प्रश्न अझै अनुत्तरित छ।
उनी पानी बाँड्ने स्वयंसेवकको रूपमा आन्दोलनमा प्रवेश गरे पनि ‘हामी नेपाल’ को ज्याकेट लगाएका ‘कमाण्डो शैलीका’ स्वयंसेवकहरूले प्रदर्शनलाई हिंसात्मक बनाएको र ५ किलोमिटरसम्म काम गर्ने वाकिटकी सेटको प्रयोग गरेको घटनाले आन्दोलनको स्वतःस्फूर्ततामाथि नै प्रश्न उठाएको थियो।
सबैभन्दा गम्भीर पक्ष उनको अन्तर्राष्ट्रिय सम्बन्ध हो। उनको संस्था ‘हामी नेपाल’ को वेबसाइटमै भारतमा रहेको ‘फ्रि तिब्बत’ अभियानसँग जोडिएको ‘स्टुडेन्ट फर अ फ्रि तिब्बत’ सँग सहकार्य रहेको उल्लेख थियो।
नेपालको परराष्ट्र नीतिको मुख्य आधार स्तम्भको रूपमा रहेको ‘एक चीन नीति’ विपरीत चीन विरोधी गतिविधिमा संलग्न संस्थासँगको सहकार्यले उनको राष्ट्रिय निष्ठामाथि नै गम्भीर प्रश्न खडा गरेको छ।
यति मात्र होइन, उनको संस्थाले नेपालका बदनाम बिचौलिया दीपक भट्ट र शंकर समूहका सुलभ तथा साहिल अग्रवालजस्ता विवादित व्यापारिक घरानालाई सहयोगीको रूपमा सम्मान गरेको थियो।
‘हामी नेपाल’ को ५४ करोडभन्दा बढीको आर्थिक कारोबार पूर्णतः अपारदर्शी छ। दाता को हुन् र त्यो रकम कहाँ खर्च भयो भन्ने विवरण गोप्य राखिएको छ। उनको टर्की, चीन र थाइल्यान्डको लामो र शंकास्पद भ्रमणले पनि उनीमाथि सुरक्षा निकायहरूको नजर रहेको थियो।
चैत १३, २०८२ शुक्रबार १५:०८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।