मन्त्रालय फेर्न दबाब दिँदा अन्तिम समयमा मन्त्री सूचीबाट हटाइए अमरेश सिंह
काठमाडौं : नेता अमरेश कुमार सिंह मन्त्री बन्नबाट बञ्चित भएका छन्।
आफूलाई दिइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा असन्तुष्टि जनाउँदै मन्त्रालय फेर्न दबाब दिएपछि सिंह अन्तिम समयमा मन्त्रीबाट हटाइएका हुन्। उनले परराष्ट्र र उर्जा मन्त्रालय मागेका थिए।
सिंहलाई यसअघि उद्योगमन्त्री बनाउने सहमति भएको थियो। तर, उनले उक्त मन्त्रालयलाई कम महत्त्वको भन्दै असन्तुष्टि जनाएका थिए।
उनले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसमक्ष आफूले चाहेको अर्को ‘शक्तिशाली’ मन्त्रालय पाउनुपर्ने अडान राखेको रास्वपा स्रोत बताउँछ।
यो निर्णयसँगै राष्ट्रपति कार्यालयमा शपथ ग्रहणका लागि पठाइएको मन्त्रीहरूको अन्तिम सूचीमा अमरेश सिंहको नाम समावेश छैन। सिंहको बहिर्गमनपछि उद्योग मन्त्रालय प्रधानमन्त्री शाहले नै सम्हालेका छन्।
चैत १३, २०८२ शुक्रबार १२:५६:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।