सरकारले विना रणनीति सेनालाई युद्धमा धकेलेको इजरायली विपक्षी नेताको आरोप
एजेन्सी : इजरायलका विपक्षी नेता यायर ल्यापिडले विना कुनै रणनीति सेनालाई युद्धमा पठाएको भन्दै सरकारमाथि गम्भीर आरोप लगाएका छन्। अत्यन्तै कम सैनिकका साथ सेनालाई युद्धभूमिमा उतारिएको उनको भनाइ छ।
हिब्रु भाषामा जारी गरिएको एक भिडियो सन्देशमा ल्यापिडले भनेका छन्, ‘आईडीएफ (इजरायली रक्षा बल) ले आफ्नो क्षमताको उच्चतम सीमा पार गरिसकेको छ। सरकारले सेनालाई घाइते अवस्थामै युद्धमैदानमा अलपत्र छोडिरहेको छ।’
ल्यापिडका अनुसार सरकारले सेनालाई ‘कुनै रणनीति र आवश्यक स्रोतसाधन विना नै अत्यन्तै कम सैनिकका साथ बहुआयामिक मोर्चाको युद्ध’मा पठाइरहेको छ।
उनले थपे, ‘रिजर्भ सैनिकहरू पूर्ण रूपमा थाकिसकेका छन् र अब हाम्रा सुरक्षा चुनौतीहरूको सामना गर्न उनीहरू सक्षम छैनन्।’
उनले सरकारलाई अति-रूढिवादी ‘हरेदी’ समुदायका पुरुषहरूलाई सेनामा भर्ना गर्न आग्रह गरेका छन्। यो समुदायले आफ्नो सम्पूर्ण समय पवित्र यहुदी ग्रन्थको अध्ययनमा लगाउने गर्छ र सन् १९४८ मा इजरायल स्थापना भएदेखि नै उनीहरूले अनिवार्य सैन्य सेवाबाट छुट पाउँदै आएका छन्।
इजरायली सञ्चारमाध्यमका अनुसार, सेना प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जमिरले हिजो सुरक्षा क्याबिनेटलाई दिएको चेतावनीपछि ल्यापिडको यो भनाइ बाहिर आएको हो। सेना प्रमुख जमिरले ‘आईडीएफ पतनको संघारमा रहेको’ चेतावनी दिएका थिए।
ठीक एक महिनाअघि फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि हवाई आक्रमण गरेका थिए। त्यसयता इजरायल मध्यपूर्वमा लगातार युद्ध लडिरहेको छ।
यस क्रममा इजरायली सेनाले इरान र लेबनानमा निरन्तर आक्रमण गरिरहेको छ। यसका साथै उसले सिरियामा रहेका आफ्ना शत्रुहरूका अखडालाई समेत निशाना बनाएको छ।
अर्कोतर्फ, इजरायली सेनाले हिजबुल्लाह र इरानको तर्फबाट भइरहेका आक्रमणको पनि सामना गर्नुपरिरहेको छ, जसका कारण सेना एकैपटक धेरै मोर्चाहरूमा अल्झिन पुगेको छ।
चैत १३, २०८२ शुक्रबार ०८:०२:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।