तस्बिरमा हेर्नुहोस् सांसदहरूको शपथ ग्रहणका दृश्य
काठमाडौं : सङ्घीय संसद्का नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहणका कारण बिहीबार सिंहदरबार परिसरमा व्यस्त देखियो। दिउँसो २ बजेका लागि तय गरिएको समारोहमा सहभागी हुन सांसदहरू दुई घण्टा अगावै उपस्थित हुन थालेपछि सामान्यतया प्रशासनिक काममा व्यस्त रहने सिंहदरबारको माहोल फरक देखिन्थ्यो।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र क्षति भएको र सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा शपथको व्यवस्था गरिएको थियो। संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयका अनुसार नयाँ भवन हस्तान्तरण नहुन्जेल संसद्का आगामी बैठकहरू पनि यसै हलमा सञ्चालन हुनेछन्।
समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराए। शपथ अघि सांसदहरूको परिचय पत्र, नागरिकता र तस्बिर रुजु गर्ने कार्य संसद् सचिवालयले गर्यो। कुन ढोकाबाट प्रवेश गर्ने भन्ने स्पष्ट नहुँदा सुरुमा केही अलमल भएको देखिन्थ्यो।

सांसदहरू आ-आफ्नो जातजाति, भाषा र संस्कृति झल्किने मौलिक पोसाक तथा मर्यादित पोसाकमा सजिएर आएका थिए। अपाङ्गता भएका सांसदहरू ह्विलचेयरमार्फत हलमा प्रवेश गरेका थियो।

समारोहमा नयाँ पुस्ताका सांसदहरूको बाक्लो उपस्थितिका कारण कर्मचारी र सञ्चारकर्मीमा विशेष चासो देखियो। शपथ लिएपछि सांसदहरूलाई प्रतिनिधिसभाको प्रतीक चिह्न (लोगो) र ब्याज प्रदान गरिएको थियो।








चैत १२, २०८२ बिहीबार १९:१४:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।