सांसदको शपथलगत्तै सर्वोच्च अदालतमा पुगे बालेन

सांसदको शपथलगत्तै सर्वोच्च अदालतमा पुगे बालेन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन'ले सांसदको शपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर तारेख बुझेका छन्। बिहीबार सिंहदरबारमा प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएपछि उनी सर्वोच्च अदालत पुगेका हुन्।

काठमाडौं महानगरपालिकाको प्रमुख रहँदा अदालतको अवहेलना गरेको भन्दै उनीविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन छ। उक्त मुद्दामा अदालतले वारेस राख्न नपाउने र स्वयं उपस्थित हुनुपर्ने आदेश दिएका कारण बालेन आफैँ अदालतमा हाजिर भएका हुन्।

तीन वर्षअघि उच्च अदालत पाटनले सिनेमा हलहरूमा हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरपालिकाका विरुद्ध अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशप्रति असन्तुष्टि जनाउँदै बालेनले सामाजिक सञ्जालमा 'देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा अदालत र सरकार भारतको गुलाम भएको' आशयको टिप्पणी गरेका थिए।

उनको उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको जिकिर गर्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन्। सोही मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले उनलाई आफैँ उपस्थित हुन आदेश दिएको थियो।

सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार बालेनले बिहीबार उपस्थित भएर तारेख बुझेका छन्। अदालतले उक्त मुद्दाको आगामी पेसी जेठ १४ गतेका लागि तोकेको छ।

सर्वोच्चमा तारेख बुझेपछि शाह वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुगेका थिए। रास्वपा संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको छ। 

चैत १२, २०८२ बिहीबार १८:२१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।