‘३६ को आँकडा’ को प्रदर्शन स्थगित, रेखा र निर्देशकबीच खटपटको चर्चा
काठमाडौं : चैत २७ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘३६ को आँकडा’ को प्रदर्शन स्थगित भएको छ। फिल्मको प्राविधिक काम बाँकी रहेको भन्दै निर्माण पक्षले निर्धारित समयमा फिल्म ल्याउन नसकिने जानकारी दिएको हो।
फिल्मको प्रदर्शन रोकिएसँगै अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठबीचको सम्बन्ध चिसिएको चर्चा सिने वृत्तमा सुरु भएको छ। समयमै काम नसकिएको विषयलाई लिएर दुईबीच ‘बोलचाल बन्द’ भएको बताइए पनि दुवै पक्षले यसबारेमा केहि बोलेका छैनन्।
निर्देशक श्रेष्ठले भने प्राविधिक काम नसकिएकाले तोकिएको मितीमा प्रदर्शनमा नआउने बताए। उकेरासँगको कुराकानीमा उनले भने, " भिएफएक्स र ब्याकग्राउण्ड स्कोरको काम अझै बाँकी छ। कलरको काम हुँदैछ। रेखा जी पनि आफ्नो फिल्ममा व्यस्त हुनुहुन्छ, एक पटक टिम बसेर निर्णय गर्छौ, कहिले ल्याउने भनेर। तर अहिले (चैत २७) गते भने फिल्म आउँदैन।"
चैत २७ को मितिबाट टसमस नहुने अडान कसेको निर्माण टिम प्राविधिक कारणले पछि हट्न बाध्य भएपछि '३६ को आँकडा' को प्रदर्शन अहिलेलाई अनिश्चित बनेको छ।
फिल्मकी निर्मात्री समेत रहेकी रेखा थापा हाल अर्को फिल्म ‘माया भनेको यस्तो होला’ को निर्देशनमा व्यस्त छिन्। १५ दिनदेखि छायांकनमा रहेको उक्त फिल्मको काम अझै एक साता चल्ने देखिएको छ। रेखाले समय नदिएकै कारण फिल्म सरेको हो कि भन्ने प्रश्नमा निर्देशक सबिरले त्यसलाई नकार्दै आफ्नो तर्फबाटै काम नसकिएको स्पष्ट पारे।
उनले भने, "रेखाले समय नदिएको भन्दा पनि प्राविधिक काम नै हो। उहाँको चलिरहेको सुटिङ पनि अलिक अगाडी नै सक्ने कुरा थियो। उहाँको पनि सुटिङ भइरहेको छ। प्रमोसनको पार्टमा त उहाँले सुटिङबाट पनि भ्याउनु हुने थियो होला तर मेरो प्राविधिक कामहरु नै कम्प्लिट भएका छैनन्।’
यो फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का,निरुता सिंहको पनि अभिनय रहेको छ।
यसअघि रेखा र निरुताले फिल्म‘दुई पल’मा अभिनय गरेका छन्।
‘३६ को आँकडा’ दौडबाट बाहिरिएपछि सोही मितिमा प्रदर्शन हुने अन्य दुई फिल्मलाई भने राहत मिलेको छ। चैत २७ गते नै विराज भट्टको ‘राम नाम सत्य’ र सागर लम्साल (बले) को ‘डल्लेले इन्ट्री मार्यो’ प्रदर्शनमा आउँदैछन्। यसअघि तीन फिल्मबीच भिडन्त हुने चर्चा भए पनि अब दुई फिल्मबीच मात्र प्रतिस्पर्धा हुनेछ।
नयाँ वर्षकोअवसर पारेर वैशाख १ गतेबाट तुलसी घिमिरेको ‘पहाड’ पनि प्रदर्शनमा आउने तयारीमा छ।
चैत १२, २०८२ बिहीबार १६:०६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।